कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय विद्यालय समेत प्रविधिमैत्री हुन थालेका छन् । खरी पाटीमा अध्यापन गराउने शिक्षकहरु ल्यापटपमा शैक्षिक सामाग्री राखेर स्मार्ट टिभिमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चक पछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षकहरु स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीहरुलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ । विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभि जडान गरिएको छ भने शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको छ ।

६ देखि १२ कक्षा सम्मका सात वटा कक्षा कोठामा ४३ इन्चको स्मार्ट टिभि जडान गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्यसामाग्री स्मार्ट टिभिजमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत नभएको अवस्थामा समेत डिजिटल माध्यमबाट अध्यापन गराउन सक्ने सिगाना माध्यामिक विद्यालय तित्याङले जनाएको छ ।

अहिले ल्यापटपबाट विद्यार्थीलाई अध्यापन गराउने विषयमा शिक्षकहरुले तालिम लिइराखेको विद्यालयका प्राचार्य गोपाल कुमार शर्माले जानकारी दिनुभयो । विद्यालयले रु. १६ लाख २६ हजार खर्चेर शिक्षण शिकाईलाई प्रविधि मैत्री बनाएको हो ।

शर्माका अनुसार ६ देखि १२ सम्मका सबै कक्षा कोठामा स्मार्ट टिभि र १२ शिक्षकका लागि ल्यापटप वितरण गरिएको छ । “अब प्रविधि संगै शिक्षक विद्यार्थी नजिक हुनुको विकल्प रहेन, कम्तिमा दैनिक दुई पिरियड मात्रै भएपनी डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उदेश्य छ, अहिले शिक्षकहरुले ल्यापटप सञ्चालन र ल्यापटपबाटै अध्यापन गर्ने विषयमा जानकारी लिदै हुनुहुन्छ” शर्माले भन्नुभयो “ल्यापटपमा इन्टरनेटको व्यवस्था हुँनेभएकाले विद्यार्थीले चाहेको विषय इन्टरनेटबाटै सिधै अध्यापन समेत गराउन मिल्ने छ, प्राथमिक कक्षामा समेत यो प्रविधि लागू गर्ने योजना विद्यालय संग छ ।”

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको रु. ६ लाख ५० हजार, बागलुङ नगरपािलका–८ र ९ वडाको रु. चार लाख, शिक्षकहरुबाट संकलन गरिएको रु. ४९२ हजार बाट स्मार्ट टिभि र ल्यापटप खरिद गरिएको हो । रु. ३ लाख ५० हजारमा बैकल्पिक उर्जाको समेत व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।

रु. ८० हजारको ल्यापटपका लागि शिक्षकले रु. ४० हजार आफ्नो तर्फबाट खर्च गरेको विद्यालयको भनाई छ । विद्यालयमा विद्यार्थी संख्या बढाउने भन्दा गुणस्तर बढाउने तर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो । “विद्यालयमा हाल ३२० जना विद्यार्थी छन्, यो विद्यार्थीको संख्या हाम्रोमा घट्दो हो, बसाई सराईका कारण विद्यार्थीको संख्या क्रमश घट्दै छ तर हामीले शैक्षिक गुणस्तर भने बढाउदै लगेका छौं” अध्यक्ष खड्काले भन्नुभयो “अहिलेका विद्यार्थीहरुलाई नयाँ प्रविधिको विषयमा जानकारी गराउनका लागि ६ देखि १२ कक्षा सम्म डिजिटल माध्यामबाट अध्यापन गराउन थालिएको छ ।”

प्राथमिक तहमा समेत डिजिटल माध्यामबाट अध्यापन गराउनका लागि गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले रु. ४ लाख बजेट विनियोजन गरेको छ । यस्तै विद्यालयमा प्रविधिको माध्यामबाट अध्यापन गराउनका लागि एसएलसी व्याच २०५२ द्वारा २ लाख २६ हजार समेत सहयोग भएको थियो ।

डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा शिकाई उपलव्धी बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपुण हुने विद्यालयको भनाई छ । विद्यालयमा १ देखि १२ कक्षा सम्म २३० जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् भने अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थीहरुले विद्यालयकै जग्गामा केरा खेती समेत गर्दै आएका छन् । जिल्लाको निसीखोला गाउँपालिकाको प्रभा माध्यामिक विद्यालय, काठेखोला गाउँपालिकाको रेश नुन्थलामाध्यामिक विद्यालयमा समेत एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *