आदर्श अनलाइन, बागलुङ
खेलाडीहरुलाई भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्यका साथ रेशमा सञ्चालित १ महिने प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका वडा नं. ७ वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा रेश नुन्थलामा १ महिने भलिवल प्रशिक्षण कार्यक्रम माघ १८ गतेदेखि सञ्चालन गरिएको थियो ।
प्रशिक्षण समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सक्षम र दक्ष खेलाडि उत्पादन गरी खेललाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रशिक्षण सहयोगी हुने बताउनुभयो ।
शिक्षा जस्तै खेलकूदको पनि युवाहरुको समग्र विकासका लागि आवश्यकता हुने चर्चा गर्दै अध्यक्ष थापाले खेलाडिहरु समाज रुपान्तरणका लागि सहयोगी हुने भएकाले उनीहरुलाई सीप, दक्षतासंगै अनुशासन आवश्यक हुने धारणा राख्नु भयो ।
स्थानीय निर्वाचनका क्रममा काठेखोलाका ८ वडालाई ८ विशेष क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएर घोषणापत्र जारी गरेको भन्दै अध्यक्ष थापाले आफुहरुको प्रतिवद्धता अनुसार रेशलाई खेलकूदको हव बनाउन पालिका सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष प्रेम लामिछाने, खेलकूद विकास समिति रेशका अध्यक्ष डिल हादुर कार्की, प्रशिक्षक तेजेन्द्र बानियाँ लगायतले मन्तवय व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा प्रशिक्षण सफल पार्न सहयोग गरेको भन्दै प्रशिक्षक तेजेन्द्र बानिया सहित डिल बहादुर कार्की, रोशन कुँवर, विकास कार्की, हरि क्षेत्री र आकाश गुरुङ सम्मान गरिएको थियो ।
कार्यक्रम खेलकूद संयोजक बुद्धि कार्कीको अध्यक्षता र महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । १ महिने प्रशिक्षणमा काठेखोला गाउँपालिका वडा नं. ७ अन्तरगतका साविक ९ वडाका ४० जना खेलाडिहरुको सहभागिता रहेको थियो ।