आदर्श अनलाइन, बागलुङ
सामान्यतया पुरुषको अण्डाकोष सुन्निने रोग हो हाइड्रोसिल । तर हाइड्रोसिलको मुख्य कारण हात्तिपाइले रोगको संक्रमण हो । हात्तिपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुँन सक्ने स्वाथ्यकर्मीहरुले बताउदै आएका छन् ।
बागलुङमा सरककारले चाहेको समयमा हात्तिपाइले निवारण हुँन सकेको छैन । हात्तिपाइलेका कारण हाइड्रोसिलका बिरामीहरु समेत बढ्दै गएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
अण्डकोषमा पानी भरिने समस्यालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ । कसै–कसैलाई यसले लामो समय दुःख दिने गरेको हुन्छ । लाज, शरमको कारण यस्ता अंगमा लागेको रोग लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा हाइड्रोसिलको समस्या बागलुङमा झनै बढेर गएको पाइएको छ ।
स्वास्थ्य कार्यालयले फागुन २८ गतेदेखि १३ औं चरणको हात्तिपाइले विरुद्धको आम औषधी सेवन सञ्चालन गर्ने भएको छ । तर ६ वर्षमा निवारण हुँने हात्तिपाइले १३ वर्षमा समेत निवारण हुँन सकेको छैन ।
जिल्लामा हात्तिपाइले निवारण गर्नका लागि हाइड्रोसिलको शल्यक्रिया समेत गर्न आवश्यक भएपनि हाइड्रोसिल भएका विरामीले शल्यक्रिया गर्नै नमान्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा अहिले १६२ जना हाइड्रोसिलका विरामी रहेको भएपनि अहिले सम्म ९ जनाको मात्रै शल्यक्रिया भएको छ ।
“जिल्लामा हात्तिपाइलेको निवारण हुँन सकेको छैन, हात्तिपाइलेको मुख्य लक्षणभनेको खुट्टा र अण्डकोष सुन्निने हुन्छ, खुट्टाको कुनै उपचार छैन तर अण्डकोषको शल्यक्रिया गर्न सकिन्छ” गुरौले भन्नुभयो “चेतनाको अभावमा निःशुल्क शल्यक्रिया हुँने हाइड्रोसिलका विरामीहरुले शल्यक्रिर्या गर्न नमानेको अवस्था जिल्लामा विद्यमान छ ।”
स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा जम्मा ७ जनाको हाइड्रोसिलको शल्यक्रिर्याको लागि सिफारिस गरेको थियो भने अहिले जम्मा ९ जनालाई सिफारिस गरिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
हाइड्रोसिलको उपचार भनेको शल्यक्रियानै भएपनि नागरिकले हाइड्रोसिललाई लुकाएर राखेको स्वास्थ्य कार्यालयको भनाई छ । हाइड्रोसिलको उपचार निःशुल्क हुँनेभएपनि यातयात खर्चको अभावमा मसेत कतिपय हाइड्रोसिलका विरामी शल्यक्रिर्याका लागि नआउने गरेको समेत पाइएको छ । हात्तिपाइलेका कारण हाइड्रोसिल भएको छ भने हात्तिपाइलेको संक्रमण अन्यलाई समेत सार्न सक्ने भएकाले शल्यक्रिर्या मार्फत उपचार गर्नुपर्ने स्वास्थ्य कार्यलयको भनाई छ ।
आम औषधी सेवनमा बवासता गर्दा जिल्लाको नारायणस्थान र कुश्मिसेरामा हात्तिपाइलेको प्रकोप अझै रहेका कारण सिंगो जिल्लाले हात्तिपाइले विरुद्धको औषधी १३ पटक सम्म खाने अवस्था रहेको छ । क्युलेस जातको लामखुट्टैबाट सर्ने हात्तिपाइले नेपालको १० जिल्लामा मात्रै निवारण हुँन सकेको छैन ।
हर्निया नभएको अवस्थामा पनि हाइड्रोसिल हुन सक्छ । कतिपय अवस्थामा भने हर्नियाको कारणले पनि हाइड्रोसिल हुने गरेको देखिन्छ ।