जनप्रतिनिधि नहुँदा सेवाग्राही मर्कामा

सिर्जना पन्त, बागलुङ
बागलुङ नगरपालिका–४ का कृष्णप्रसाद आचार्य आफ्ना छोराको जन्मदर्ता प्रमाणपत्र लिन वडा कार्यालय धाउन थालेको हप्ता दिन बित्यो । वडा अध्यक्ष निलम्बनमा परेको सुनेका आचार्य वडा सदस्यले सिफारिस दिन्छन् भनेर वडा कार्यालय जानुभएको थियो । तर, कार्यालयमा वडा सदस्य पनि नभएपछि उहाँको काम रोकिएको छ ।

छोरीको नागरिकता प्रमाणपत्र निकाल्नको लागि वडा कार्यालयबाट सिफारिस लिन पुगेकी विष्णु केसीको समस्या पनि उस्तै छ । पछिल्लो एक सातामा तीनपटक वडा कार्यालय पुगेकी उहाँ पनि रित्तो हात फर्किन परेको बताउनुहुन्छ । वडा कार्यालयबाट सिफारिस लिएर नगरपालिकामा योजना माग गर्न जाने तयारीमा रहेका महोमद हेदायत हुसेनको पनि समस्या उस्तै छ ।

पछिल्लो एक सातादेखि वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही सास्ती र हैरानी खेप्दै फर्किन थालेका छन् । काम गर्ने वातावरण नभएको भन्दै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएपछि बागलुङ नगरपालिका–४ को सेवा प्रवाह प्रभावित भएको हो । वडा कार्यालय जनप्रतिनिधि विहिन भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राही मारमा परेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ४ मा रहेको दावगरा बसपार्कको जग्गा व्यवस्थापनमा अनियमितता गरेको आरोपमा सोही वडाका वडा अध्यक्ष ध्रुवबहादुर केसी सहित अन्य ८ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते विषेश अदालतमा मुद्धा दर्ता गरेपछि कार्यालय वडाअध्यक्ष विहिन भएको थियो ।

वडा अध्यक्ष केसीले कार्यवहाक जिम्मेवारी दिएका महिला सदस्य पवित्रा थापा सहित वडा सदस्य बाणिन्द्र बहादुर केसी र अमृता बराईलीले काम गर्ने वातावरण नभएको भन्दै फागुन २३ गते सामुहिक राजिनामा दिएपछि वडा कार्यालय जनप्रतिनिधि विहिन बनेको हो ।

एक सातादेखि वडा कार्यालय जनप्रतिनिधि विहिन हुँदा कार्यालयबाट प्रदान हुँदै आएका सेवा प्रभावित बनेको वडा सचिव शर्मिला केसी बताउँनुहुन्छ । घटना दर्ता, विवाह दर्ता, जन्मदर्ता, बसाइसराँई, मृत्यु दर्ता र सम्बन्ध विच्छेद दर्ताको काम मात्रै आफुले गर्दै आएको भन्दै जनप्रतिनितिद्वारा प्रदान गरिदै आएका विधिन्न ३६ प्रकारका सिफारिस, योजना फछर्याैट लगाएतका काम प्रभावित बनेको केसीले बताउँनुभयो ।

‘दैनिक बढिमा २५ देखि कम्तीमा १२ जना सेवाग्राही वडामा सेवा लिन आउँनु हुन्थ्यो, केसीले भन्नुभयो जनप्रतिनिधि नभएपछि सबैलाई फर्काउनु परेको छ ।’ नागरिकताको सिफारिस, नक्सापास, चारकिल्ला, विद्युतको मिटर जडान, खानेपानीको मिटर जडान सँगै नाता प्रमाणितको लागि आउँने दैनिक दर्जनौ सेवाग्राहीलाई सेवा प्रभाव गर्न नसकिएको केसीले बताउँनुभयो ।

वडा सदस्यहरुले राजिनामा दिएको विषयमा आफुलाई जानकारी नभएको बागलुङ नगरपालिकाका मेयर जनक पौडेल बताउनुहुन्छ । वडा कार्यालयको सेवा प्रभावित भएको विषयमा आफु जानकार रहेको र सहज सेवा प्रदानको लागि प्रयाशरत रहेको भएपनि आफु समक्ष वडा सदस्यहरुको राजिनामा आइनपुगेको पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *