स्वरोजगारका लागि ड्राइभिङ तालिम दिदै नगरपालिका

आदर्श अनलाइन, बागलुङ

दुई वर्ष अघि बागलुङ नगरपालिकाले वडा नम्बर ६ अन्तरगतका ४९ जना युवाहरुलाई ड्राइभिङ तालिम प्रदान गरिएको थियो । तालिम पश्चात युवाहरुले सवारी चालक अनुमती पत्र लाइसेन्स निकालेर सवारी चलाउन थाले ।

अहिले त्यहाँका एक दर्जन युवाले गाउँमै सवारी चलाउन थालेका छन् । सोही वडामा रहेको पर्यटकीय स्थलमा पञ्चकोट पुग्ने पर्यटकको लर्को नै लाग्छ । पञ्चकोट पुग्ने ३०÷४० ट्याक्सी मध्ये एक दर्जन ट्याक्सी नगरपालिकाले तालिम दिएका युवाहरुले चलाइरहेको बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो ।

त्यसपछि बागलुङ नगरपालिका–८ सिगानाका युवाहरुलाई ड्राइभिङ तालिम दिएर स्वरोजगार बनाउन सहयोग गरेको बागलुङ नगरपालिकाले अहिले दलित समुदायका युवा–युवतीहरुलाई ड्राइभिङ तालिम दिन शुरु गरेको छ ।

बागलुङ नगरका सबै वडावाट छनौट गरेर ४९ जना दलित समुदायका युवाहरुलाई ड्राइभिङ तालिम दिन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

लोक सेवा प्रति आकर्षण गराउन दलित तथा महिलाहरुलाई लोकसेवा तयारी कक्षामा सहयोग गर्दै आएको नगरपालिकाले पुन दलित समुदायका ६ महिला र ४१ जना पुरुषलाइ आइतबाट ड्राइभिङ तालिम दिन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“यस अघिका वर्षमा मालिका, सिगाना वडा केन्द्रित गरेर ड्राइभिङ तालिम प्रदान गरेका थियौं, केही युवाहरुले सवारी चलाएरै स्वरोजगार बनिसके” नगरप्रमुख जनकराज पौडेलले भन्नुभयो “काठमाण्डौमा सवारी चलाउनेले परिवार मात्रै हैन घर घडेरी जोडे, नेपालीहरु जसरी पनी सिप सकेर स्वरोजगार बन्नुपर्दछ, विदेशै गएपनि ड्राइभिङ तालिमले सहज बनाएको हुन्छ ।”

चार पाङ्ग्रे ड्राइभिङ तालिम सिक्दा रु. ७ हजार ५०० खर्च लाग्नेमा नगरपालिकाले रु.६००० भुक्तानी गर्ने र रु. एक हजार ५०० तालिम लिने युवालेनै भुक्तानी गर्नुपर्ने नगरपालिकाको महिला विकास शाखाका सरस्वती रेग्मीले जानकारी दिनुभयो ।

उहाँले दलित समुदायमा वेरोजगारको समस्या बढी भएकाले नगरपालिकाले दलित लक्षित कार्यक्रम अन्र्तगत एकै पटक लोकसेवा तयारी कक्षा र ड्राइभिङ तालिम सञ्चालन गरिएको रेग्मीको भनाई छ । ड्राइभिङ तालिम सिकेर स्वरोजगार बन्नका लागि नगरपालिकाले खुलाएको आवेदन अन्र्तगत छनौटमा परेर आएको बानपा–५ मालिकाका राजन बोहोराले बताउनुभयो ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित बागलुङ बसपार्क नजिकै रहेको बागलुङ कालिका ड्राइभिङ स्कूलले नगरपालिका संगको समन्वयमा तालिम दिन थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *