साधना पन्त, पोखरा
पर्वत जिल्लाको मोदी गाउँपालिका–२ पातिचौरकी सविना सुब्बाले मासिक ३० देखि ४० हजार रुपैयाँ घरमै कमाउनुहुन्छ । ढाकाको कुर्ता, सल, साडी, कोट, टोपी बचेर सुब्बाले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्नुभएको हो । सुब्बा मात्रै होइन यो क्षेत्रका २८ जना महिलाले आजभोली मासिक ३० देखि ४० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनिहरुले एउटा ढाकाको साडीलाई १२ देखी १६ हजार रुपैयाँ सम्ममा विक्री गर्छन् ।
उनिहरुले ढाकाबाट बुनेका कुर्ता, सल, साडी, कोट, टोपी देशमा मात्रै होइन यतिवेला विदेशमा पनि चर्चामा छन् । त्यसैले हङकङ, युके, अमेरीका र जापानबाट समेत उनिहरुले बुनेका ढाकाका कपडाको माग आउन थालेको छ ।
२०७३ सालमा मोदी गाउँपालिकाले गाउँपालिकाका महिलालाई उद्यमी बनाउँन र समृद्धि सँग जोड्ने अभियानको साथमा ५० दिने ढाका बुनाई तालीम प्रदान गरेको थियो । सोही तालिममा सहभागी भएका महिलाहरु आज भोली महिला उद्यमी बनेका छन् । गाउँपालिकाले महिलालाई तालिम मात्र दिएन यतिबेला उनिहरुले उत्पादन गरेका ढाकाको साडी, कुर्ता, टप्स, टोपी, कोटको कपाडा, गल्बन्दी, सल, अल्लोको कोटको बजारिकरण समेत गरिदिएको छ ।
ढाका र ढाकाबाट बुनेका कपडा पातिचौरमा मात्र पाइने भने होइन । जिल्लाका र देशका विभिन्न स्थानमा ढाकाबाट बुनेका कपडा पाइएपनि पातिचौरको ढाकाको कपडामा फिनिसिङ, गुणस्तर र नयाँ–नयाँ डिजाईनको बनाइने भएकाले आफुहरुको उत्पादन फेमस भएको सुब्बा बताउनु हुन्छ ।
‘पहिला पहिला हामिहरुले ढाकाको कपडा बुन्ने मात्र काम गथ्र्याै, तर मोदी गाउँपालिकाले यसलाई बजारिकरण मात्रै नभएर ब्राण्डिङनै गरिदियो,’ सुब्बा भन्नुहुन्छ, ‘गाउँपालिका प्रति हामी आभारी छौं ।’
सुब्बा सँगै तालिम लिएकी सोही ठाउँकी १९ वर्षीया जुनु पुर्जा पनि नियमित ढाका बुनाईमा हुनुहुन्छ । तालिम लिदा १६ वर्षकी जुनु ढाकाको कपडा बुन्ने उद्यमी महिलाको समुहकी सबैभन्दा अब्बल हुनुहुन्छ । यो उहाँकै समुहका उद्यमी महिलाको भनाई हो । ४ दिनमा एउटा ढाकाको सल बुन्ने गरेकी पुर्जा फुर्सदको समयमा गरेको कामबाट मासिक १५ हजार भन्दा बढी अम्दानी गर्ने गरेको बताउँनुहुन्छ ।
समय भए सम्म ढाका बुन्छु, धेरै होला, कस्ले किन्देला भन्ने समस्या छैन, पुर्जा भन्नुहुन्छ हामिले बुनेका सबै उत्पादन गाउँपालिकाबाट सञ्चालित कोसेली घरले खरिद गरिदिन्छ । ‘तान र बुन्नका लागि पालिकाले व्यवस्थापन गरिदिएको छ, कच्चा पर्दाथ किनेर ढाका बुन्ने मात्र हाम्रो काम हो,’ पुर्जाले भन्नुभयो ‘महिलालाई सिप सिकाएर आत्मनिर्भर बनाउन मोदी गाउँपालिकाले खेलेको भूमिका उदारणिय छ ।’
मोदी गाउँपालिका २ पातिचौरकी टौमाया पुनलाई पनि सुब्बा र पुर्जालाई जस्तै भ्याई नभ्याई छ । बिहानै ४ बजे उठेर घरको धन्दा सकेर ढाका बुन्न बस्नुहुन्छ । पालिकाले सिकाएको सिपले अहिले आर्थिक रुपमा मात्र नभएर महिला उद्यमी भनेर आफ्नो पहिचान समाजमा स्थापित गर्न सकेको पुन बताउनु हुन्छ । अहिले वार्षिक ३ देखि ४ लाख आम्दानी गर्ने पुनले बताउनु भयो । पुनले बुनेका ढाकाका कपडा स्वदेश तथा विदेशमा विक्री हुन्छन् ।
स्थानीय सरकार आउन भन्दा पहिला धेरै थरी सिप सिकेता पनि त्यसलाई जीवनमा लागु गर्ने वातवरण नमिलेको बताउने महिलाहरु स्थानीय सरकारको सहयोगले उद्यमी बनेको बताउँछन् । गाउँपालिकाले पुनलाई पालिकामा मात्रै होइन तालीम लिनको अन्य जिल्लामा समेत पठाएको छ । गाउँपालिकाले सिकाएको सिपले ‘पातिचौरको ढाका’ भनेर फेमस हुँदा पुनलाई गर्व लाग्छ ।
महिललाई समृद्धीसंग जोडनको लागि सिपमुलक तालिम दिएर उद्यमी बनाएको बनाएको मोदी गाउँपालिका उद्यमविकास संयोजक सिताकुमारी शर्माले बताउनु हुन्छ । मोदिका महिलालाई लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी विभिन्न तालिम संचालन गरेर सिप सिकाएको शर्माले बताउनुभयो । पालिकालेनै स्थापना गरेको साझा सुविधा केन्द्रमा २८ जना महिलाको समुहरु नियमीत ढाकाको कपडा बुन्ने गरेको शर्माले बताउनु भयो । केही महिलाहरुले आफ्नै घरमा बुन्नेर कोही साझा सुविधा केन्द्रमा बुन्न आउने गरेको शर्माको भनाई छ ।
पातिचौरको ढाकाको कपाडा सबै ठाउँमा चर्चा भएका कारणले देश विदेशबाट अर्डर आउने शर्माले बताउनु भयो । सिप सिकाएर उत्पादन सुरु गरेपछि बजारिकरणमा समस्या नहोस भनेर गाउँपालिकालेनै कोसेली घर संचालनमा ल्याएर बिक्री गरिदिएको शर्माले बताउनुभयो ।