बाँझो जग्गा सदुपयोग गर्न व्यावसायिक बाख्रापालन

आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासमा रहेका ५८ घर मध्ये अधिकांश घरमा ताल्चा लागेको छ । बसाई सराईको प्रभाव परेको गाउँमा पाँच÷सात घरमा मात्रै अहिले मानिस बसोवास गर्ने गरेका छन् ।

उजाडिएको गाउँबाट अध्ययनको लागि विदेश जाने योजना बनाउनुभएको ३५ वर्षका मेख बहादुर थापा अहिले बाख्रापालनमा लाग्नुभएको छ । श्यामखर्कमा बसाई सराइका कारण धेरै जग्गा बाँझो पल्टिएको छ । धौलागिरी क्याम्पसबाट आइए पास गर्नुभएका थापाले विदेशमा अध्यययन गर्ने सपना पुरा नभएपछि काठमाण्डौं स्थित टोखामा दुई वर्ष पोल्टी फर्म समेत सञ्चालन गर्नुभयो ।

अध्ययन गर्न विदेश जाने सपना पुरा नभएपछि व्यावसायिक सोच बनाउनुभएको थापाले २०७२ सालको भुकम्पका कारण काठमाण्डौंको पोल्टी व्यवसाय बन्द गरेर गाउँ फर्केर बाख्रापालन थालेको बताउनुभयो । अहिले घुम्टे हिल पशुपन्छी फार्म मार्फत बाख्रा पालन गरिरहनुभएको थापाले कुखुरा समेत पाल्ने योजना रहेको बताउनुभयो ।

गाउँफर्केर केही गर्ने योजना बनाउनुभएका मेख थापाले गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाएको बताउनुभयो । “गाउँमै केही गर्ने सोच पलाएको थियो, बसाईसराईले गाउँनै उजाडिएको अवस्थाले घर बन्द र बारी बाँझो थिए, खेती गर्न जनशक्ति चाहिने रहेछ, जुन श्याम खर्कमा संभव थिएन,त्यसैले व्यावसायिक बाख्रा पालनको सोच बनाएको हुँ, अहिले फर्म विस्तार गरिरहेको छु”

अहिले थापाको फर्ममा साना ठूला गरेर १२५ बाख्रा बोका रहेका छन् । थापाले अहिले नाफालाई ध्यान नदिई लगानी वृद्धि गर्दै आएको बताउनुभयो । तीन वर्ष अघि ३५ वटा बाख्राबाट शुरु गरेको व्यवसाय अहिले १२५ बाख्रा पु¥याएको बताउनुभयो ।

थापाले मुख्य गरी गाउँमा बाँझो जग्गाको सदुपयोग गर्दै आफ्नो आय आर्जन बढाउनका लागि बाख्रापलनमा लगानी गर्दै आएको मेख थापाले बताउनुभयो । उहाँले हाल सम्म ३० लाख लगानी गरिसक्नु भएको छ भने ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रर्बद्धन गर्दै ९ लाखको अनुदान उपलव्ध गराएको बताउनुभयो । अनुदानले फर्म विस्तार र बोयर बोका खरिद गरेको बताउनुभयो । अहिले फर्ममा काठे, खरी जातका बाख्रा भएपनि विस्तारै बोयरमा रुपान्तरण गर्न थालेको बताउनुभयो ।

गाउँ उजाडिदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढेर गए, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोचका साथ गाउँ फर्केको थिए । “अहिले सम्म नाफामा ध्यान दिएको छैन, भएको आम्दानी लगानी गर्दै आएको छ, व्यवसायमा मलाई भाई रिम बहादुर थापाले सहयोग गरिरहेका छन्, अर्का एक जना गाउँले दाईले बाख्रापलनमा नियमित खटिरहनु भएको छ” उहाँले भन्नुभयो “आफ्नै ६० रोपनी, र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा बाख्रा चराउने र घाँस काट्ने गरेको छ, सामुदायिक जंगलमा समेत बाख्रा चराउदै आएको छु, चरन क्षेत्रमा हुँर्केका बोकाको मासु स्वादिष्ट हुँने भएकाले बजारको समस्या छैन खरिदका लागि व्यापारीहरु फर्ममै आउने गरेका छन् ।” जग्गा बाँझो नराख्ने सर्तमा आफूलाई चार घर परिवारले जग्गा दिएको बताउनुभयो ।

चरन क्षेत्र प्रसस्त भएको श्याम खर्कमा बाख्रा पालनको निकै संभावना देखेरै व्यवसायमा हात हालेको उहाँको भनाई छ । थापाले गाउँ उजाडिदै गएपनि हिम्मतका साथ गाउँ फर्केर बाख्रा पालनमा लागनु भएको हो । “भुकम्प नआएको भएर सायद गाउँ आउने योजना आउने थिएन होला, काठमाण्डौमै पोल्टी चलाई राखेको हुन्थे” थापाले भन्नुभयो “भुकम्पले गाउँ फर्कने मौका दियो, बाख्रा पालन गरेर गाउँमै रमाउने सोच पलायो, अहिले यसेमा सन्तुष्ट बन्दै फर्म विस्तारमा लागेको छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *