सफल बन्दै गलकोटका महिलाहरुको सामुहिक कृषि खेती

आदर्श अनलाइन, बागलुङ

केहि वर्षसम्म घर धन्दामा सीमित गलकोट दुदिलाभाटीका महिलाहरु अहिले सामुहिक कृषि खेतीमा अग्रसर भएका छन् । श्रीमानको कमाईमा निर्भर बन्दै आएका महिलाहरुले अहिले धेर थोर रकम कमाएर घर खर्च चलाउन सफल भएका छन् ।

दुई वर्ष अघिदेखि गलकोट नगरपालिका–१ दुदिलाभाटिको ज्यामिरेमा ८ रोपनी जग्गा भाडामा लिएर त्यहाँका १० जना महिलाहरु मिलेर सामुहिक खेती शुरु गरेका थिए । गाउँमा धेर थोर निर्वाहमूखी खेती गर्दै आएका महिलाहरुले सामुहिक रुपमा कृषि खेती गर्न थालेपछि आय आर्जनमा बृद्धि भएका मात्रै छैन यहाँका महिलाहरु व्यवसायिक बनेका छन् ।

२०७६ सालमा मेलमिलाप एकिकृत कृषक समूह गठन गरी यहाँका महिलाहरुले सामुहिक कृषि खेती थालेका थिए । सामुहिक रुपमा गरिएको कृषि खेतीले सफलता पाउदै गएपछि महिलाहरुले आधा समय सामुहिक खेती र आधार समय आफ्नो व्यक्तिगत तरकारी खेतीमा समय दिन थालेको मेलमिलाप एकिकृत कृषक समूहका अध्यक्ष सुमित्रा कार्कीले बताउनुभयो । अहिले सामुहिक रुपमा च्याउ खेती, काउलि, बन्दा, टमाटर लगायतका मौसमी तथा बेमौसमी तरकारीहरु समूहले उत्पादन गर्दै आएको छ ।

“हामीले पहिला घर धन्दा मात्रै गर्ने गरेका थियौ, पछि सामुहिक रुपमा गाउँमा बाँझो भएको बारीलाई भाडामा लिएर खेती थालेका थियौं” कार्कीले भन्नुभयो “१० जना महिलाले हप्तामा अनिवार्य दुई दिन सामुहिक कृषि खेतीमा काम गर्नु पर्ने नियम छ, अघिपछि कामको अवस्था हेरेर हुन्छ,आम्दानी वार्षिक रुपमा खर्च कटाएर बाढ्ने भनेका छौं, अहिल सम्म आम्दानीलाई लगानी गर्दै आएका छौं, शुरुमा एक लाख २० हजार बाट शुरु भएको व्यावसायिक कृषि खेतीमा अहिले १८ लाख लगानी पु¥याइसकेका छौं ।”

सामुहिक कृषि खेतीमा रैथाने बाली संरक्षणका लागि कोदो समेत उत्पादन गर्दै आएको कार्कीको भनाई छ । वार्षिक १८ हजार भाडा तिरेर ८ रोपनी जग्गामा गरेको सामुहिक तरकारी खेती विस्तारै सफल हुँदै गइएपछि यहाँका महिलाहरु विस्तारै जागरुप भएका छन् । यहाँका महिलाहरुले सामुहिक खेती संगै व्यक्तिगत रुपमा समेत व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सामुहिक खेतीले महिलाहरुमा कृषि खेती प्रतिको सोचनै बदेलेको कार्कीको भनाई छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमतीहरुले राम्रो कमाई समेत गर्न थालेपछि श्रीमानहरुले समेत तरकारी खेतीलाई साथ दिएका छन् । यहाँका महिलाहरुको व्यक्तिगत अलैची खेती समेत रहेको छ । पहिला झार उम्रिएको पाखोमा अलैचीले राम्रो आम्दानी दिन थालेको महिलाहरु बताउछन् । सामुहिक खेतीमा सहभागी मध्ये चार महिलाहरुले व्यक्तिगत रुपमा फर्म समेत दर्ता गरेर मनग्य आम्दानी गदै आएको समूहका कोषाध्यक्ष कल्पना गुरुङले बताउनुभयो ।

समूहको सात वटा प्लाष्टिक टर्नेल र ८ वटा व्यक्तिगत रुपमा प्लाष्टिक टर्नेलमा व्यावसायिक तरकारी खेती गरिरहेको महिलाहरुले जनाएका छन् । उनिहरुले सामुहकि रुपमा २०७६ सालमा शुरुवाती भएको र गत वर्षबाट मुनाफा हुन थालेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले गत वर्ष दुई लाख आम्दानी भएको र अहिले तरकारी खेती तथा टर्नेल विस्तार भइरहेका कारण आम्दनी निकै बढेर जाने बताउनुभयो ।

कार्कीका अनुसार गत वर्ष कृषि ज्ञान केन्द्र बागलुङले ९ लाख अनुदान दिएको र त्यसबाट टर्नेल तथा तरकारी खेती विस्तारका लागि पूर्वाधार र उपकरण खरिद गरिएको भन्दै सामुहिक र व्यक्तिगत खेतीबाट महिलाहरुले मनग्य आम्दानी गर्न थालेको बताउनुभयो । “सामुहिक खेतीका कारण सिक्ने मौका मिल्यो, तालिममा जान सहज भयो, संगठीत हुँनाले अनुदान आयो जस्को फलस्वरुप व्यक्तिगत रुपमा खेती गर्न समेत सहयोग मिल्यो, अहिले यहाँका महिलाहरुले व्यक्तिगत र सामुहकि खेती गर्नमै व्यस्त भएका छन् भने विदेश गएका र जान खोजेका श्रीमानहरुले श्रीमतीको तरकारी खेतीलाई सहयोग गर्दै आएका छन्” कार्कीले भन्नुभयो ।

समूहमा आबद्ध महिलाहरुको सबैको चार देखि १० रोपनी क्षेत्रफलमा अलैची खेती तथा न्यूनतम दुई रोपनी जग्गामा तरकारी खेती समेत रहेको छ । समूहमा मिलेर काम गर्ने, ज्ञान आर्जन गर्ने र त्यसलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउदा यहाँका १० महिलाहरुले व्यावसायिक तरकारी खेतीमा राम्रो भविश्य देखेका छन् । उनिहरुले समूहमा आबद्ध नभएको भए अहिले व्यवसायिक सोच नआउने बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *