गठबन्धनलाई भागबण्डा मिलाउन सकस

भुँइको टिप्न खोज्दा पोल्टाको पोखिएलाः भरत शर्मा गैरे


आदर्श अनलाइन, बागलुङ
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् ।

बागलुङमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बस्दै आएको छ तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन ।

गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् । दलहरूले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबीच औपचारिक अनौपचारिक रूपमा पटक–पटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ ।

बागलुङका १० वटा स्थानीय तह मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिका गरि चार स्थानीय तह, एमालेले ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिका, नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिकाले जितेको थिए ।

यस पटक गठबन्धनका दलहरु विभिन्न स्थानमा आफूलाई गाउँपालिका तथा नगरपालिका प्रमुखको दाबी गर्दै आएका छन् । कांग्रेसले साविक तिजेको पालिकाहरुमा छोड्ने मनाशयमा छैन भने राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले पहिलेको पालिका बढाउने दाउमा देखिन्छन् । नेपाली काँग्रेसका नेता तथा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले गठबन्धनका नाममा आफ्नो धरातलीय यथार्थलाइ बिर्सेर आफ्नो सामाथ्र्य भन्दा ज्यादा दाबी गर्ने र गठबन्धनलाई नै आफ्नो गुमेको वा नभएको शक्ति आर्जन गर्ने माध्यम बनाउन कोसिश गर्नुले राम्रो परिणाम नदिने बताउनुभएको छ । उहाँले फेसबुक मार्फत लामो स्टाटस लेख्दै गलकोट नगरपालिकामा विगतको परिणामलाई हेर्दै गठबन्धमा रहेका अन्य दलले समानुपातीक रुपमा प्रमुख उपप्रमुख बाहेकका अन्य पदमा चित्त बुझाउनुपर्ने बताउनुभएको छ । उहाँले गठबन्धको नाममा बढी भुँइको टिप्न खोज्दा पोल्टाको पोखिन सक्ने भन्दै चेतावनी समेत दिनुभएको छ ।

कांग्रेसले पहिले जितेका पालिका नछोड्ने र जनमोर्चा तथा माओवादीले बढाउने दाउ थाप्दा गठबन्धनको बैठकले सार्थकता पाउन नसकेको गठबन्धनका एक नेताले बताउनुभयो ।

कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको उहाँको भनाई छ । ति नेताका अनुसार यस अगाडी बरेङ गाउँपालिका जितेको जनमोर्चाले यस पटक जैमिनी नगरपालिकामा पनि प्रमुख मागेको बुझिएको छ ।

त्यस्तै यसभन्दा अगाडी ताराखोला गाउँपालिका मात्रै जितेको माओवादी केन्द्रले अहिले गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा पनि दाबी गर्न थालेको पाइएको छ । यी दुबै पालिकामा कांग्रेको राम्रो जनमत हुँदा भागबन्डा नमिलेको नेता कार्यकर्ताको भनाई छ ।

बागलुङमा सबैभन्दा कमजोर रहेको नेकपा एकीकृत समाजवादीले पनि केही पालिका र वडाहरुमा दाबी गरि रहेको पाइएको छ । गठबन्धनकै एक नेताका अनुसार साविक एमालेले जितेको ठाउँमा एकीकृत समाजवादीले दाबी गरे पनि गठबन्धनलाई सहज बनाउनका लागि एक अथवा दुई पालिकामा भए पनि चित्त बुझाउने मनाशयमा रहेको बुझिएको छ ।

अहिलेसम्म सहमति नजुटेको भन्दै ति नेताले आइतबार पनि गठबन्धनको बैठक रहेको बताउनुभयो । उहाँले गठबन्धन जोगाउनका लागि सबै पाटीहरु गम्भीर भएको बताउनुभयो । खासगरी अहिले छलफल जैमिनीमा केन्द्रीत भएको बुझिएको छ । कांग्रेस र जनमोर्चा दुबैले यस पालिकामा आफ्नो नेतृत्व ल्याउने अडान छोडेका छैनन् ।

त्यस्तै गलकोटमा पनि माओवादी र कांग्रेसले आ–आफ्नो दाबी गर्दै आएको पाइएको छ । सहमतिका लागि छलफल निरन्तर भइरहेको ति नेताको भनाई छ । सबै पार्टीको गठबन्धन नटुटोस भन्ने चाहना भएको हुँदा ढिलोचाँडो सहमति जुट्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *