काकाकुल नर्जाखानीवासीको घर–घरमा धारा

डम्मर बुढा मगर, बागलुङ
डेढ वर्ष अगाडीसम्म तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानी क्षेत्रका स्थानीयले कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका थिए । लामो समय स्थानीयले खानेपानीको चरम अभाव भोग्दै आएकोमा अहिले उनीहरुको घर–घरमा धारो निर्माण भएको छ । अहिले घर आँगन छेउमै धारोमा पानी झर्न थालेपछि स्थानीय निकै खुसी भएका छन् । गाउँमा पानीको अभाव हुँदा नर्जाका स्थानीयले एक गाग्री पानीका लागि घण्टौं समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता थियो ।

पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जावासीका लागि वरदान सावित भएको छ । नर्जाखानी गाउँकी मिन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रसस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताउनुभयो । उहाँले पानीको अभावका कारण विगतमा विहानसँझ पानी बोक्नमै महिलाहरुको दिन बित्ने गरेकोमा अहिले आफूहरुको दैनिकीनै फेरिएको बताउनुभयो ।

‘बिहान राती नै उठेर एक गाग्री पानी लिनका लागि एक घण्टा हिँडेर पानी ल्याउनपर्ने अवस्था थियो, घण्टौँसम्म लाइनमा बस्नु पर्ने अवस्था थियो, अधिकांश समय पानी बोक्दैमा बित्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले त घर घरमै धारो छ, निकै सजिलो भएको छ, घरमै पानी आउन थालेपछि त हाम्रो दैनिकीनै बदलिएको छ ।’

एक घर एक धाराले गर्दा तरकारी लगायतका अन्य खे ितगर्न सहज भएको भन्दै समयको समेत बचत हुने गरेको उहाँको भनाई छ । ‘विगतमा टाढाबाट पानी ल्याउनुपथ्र्यो, पानी ल्याएर खाना बनाएर छोराछोरीलाई स्कुल पठाउँदा ढिला हुन्थ्यो,’ उहाँले धन्नुभयो ‘अहिले सहज भएको छ । घरको काम चाँडे सकेर मेलापात जानका लागि पनि सहज भएको छ । तरकारी खेति लगायतका अन्य खेतिका लागि पनि प्रसस्त पानी पुगेपछि राम्रो भएको छ ।’

नर्जाखानीमा तमानखोला गाउँपालिकाले ३८ लाख रुपैयाँ लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीयलाई खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउनुभयो ।

‘यहाँका नागरिकको आधारभूत आवश्यक खानेपानी हो, त्यही पानीको समस्याले यहाँका नागरिक भौतारिनु परेको थियो, कतिले बसाइँसराइ समेत गरे’ वडाध्यक्ष छन्त्यालले भन्नुभयो ‘त्यसैले पनि पहिले खानेपानीको प्रबन्ध गर्नुपर्छ भनेर हामीले यहाँ एक घर एक धाराको योजना लागु गरेर काम पनि सम्पन्न ग¥यौं, अहिले गाउँलेहरु निकै खुसी भएका छन् ।’

एक घर एक धारा निर्माणका लागि स्थानीयले श्रमदान पनि गरेका छन् । यो अभियान अन्तर्गत नर्जा गाउँमा १ सय १४ व्यक्तिगत धारा र २ वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताउनुभयो । उहाँले वडा नम्बर ६ नर्जाखानीकै भित्रीवनमा पनि एक घर एक धारो निर्माण गरेको बताउनुभयो ।

‘हामीले यहाँका प्रत्येक बस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौं, अहिले भित्रीवनमा पनि योजना सञ्चालनमा आएको छ, विभिन्न आर्थिक वर्षहरुमा विनियोजन गरेको २० लाखले यहाँ काम भएको हो’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि तमानखोला गाउँपालिकाले विभीन्न योजना अगाडी बढाईरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकासहित प्रदेश संघ सरकार र साझेदार निकायहरु नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयर मार्फत पनि खानेपानीका योजनाहरु निर्माणको काम अगाडी बढेको बताउनुभयो ।

गाउँपालिकाले पालिकाका सबै बस्तीका नागरिकहरुलाई स्वच्छ र सफा पानी सहज रुपमा खुवाउने उद्देश्यले काम गरेको उहाँले बताउनुभयो । अध्यक्ष बुढा मगरले अहिलेसम्म अधिकांश बस्तीमा एक घर एक धारो निर्माण गरेको भन्दै केही छुटेका बस्तीमा पनि निर्माण सुरु गरेको भन्दै केही समयमा सबै नागरिकले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *