मौरी पालन व्यवसाय : महमाभन्दा घारमा नाफा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ रमेटार स्थित खेतको डिलमा म्याग्दीका डिल बहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुँने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको छ । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पाल्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्ष अघिदेखि सुन्तला खेति गर्दै आउनुभएको डिल बहादुर खत्रीले २०७२ सालबाट मौरीपालन समेत गर्न थाल्नुभएको छ । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका दागि दुबै जानुभएको खत्री दुई वर्षमै नेपाल आउनुभयो ।

पुन मलेसिया जानु भएका खत्री सन् २००९ मा मलेसियाबाट फर्कनुभयो । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्रीले सुन्तला र पछि मौरी पालनमा आर्कषित भएको बताउनुहुन्छ । उहाँको आफ्नो १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्रीले सुन्तला र पछि मौरी पालनमा आर्कषित भएको बताउनुहुन्छ ।

उहाँले यस वर्ष मात्रै ६ लाख सुन्तला बेचेरै भित्राउनुभएको थियो । सुन्तलामा मनग्य आम्दानी देखेका उहाँले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका विरुवा नयाँ लगाउनुभएको छ । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उहाँको ध्यान छ ।

स्थानीय सेरेना जातको मौरी पालन गर्दै आउनुभएको खत्रीले दुई वर्ष देखि मौरी पालनको क्षेत्र बागलुङलाई रोज्नुभएको छ । उहाँले मौरीको मह भन्दा मौरी संगैको घार बिक्रिबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । खत्रीले गत वर्ष मात्रै ११० घार मौरी सहितको घार विक्रि गरेर रु.१० लाख ४५ हजार आम्दानी गरेको र एक क्विनटल मह बिक्रिबाट रु. एक लाख १३ हजार आम्दानी गरेको बताउनुभयो ।

“हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह विक्रि गरेर १७ लाख भन्दा बढी आम्दानी गरेको रहेछु” खत्रीले भन्नुभयो “मेरो लगानी २० लाख पुग्यो, २०० सुन्तलाका विरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिए, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाको लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरी पालन ।”

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरी सहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताउनुभयो । “महभन्दा मौरी सहितको घार विक्रिमा फाइदा छ, मौरी सहितको घारलाई ९ हजार ५०० पर्छ, खाली घारलाई तीन हजार ५०० पर्छ महलाई केजीको एक हजार ३०० पर्छ” खत्रीले भन्नुभयो “मैले आफै घार निर्माण गरेर घारमा मौरी व्यवस्थापन गदै आएको छु, मौरी सहितको घार र सुन्तला बिक्रिनै मेरो मुख्य लक्ष्य हो ।”

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षलाई वार्षिक २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आउनुभएको छ । मौरीको चरनका लागि तोरी खेती हुँने क्षेत्र उपयुक्त हुँने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उहाँको भनाई छ । मौरी पालन र सुन्तला खेतीमा श्रीमती खिरादेवि खत्रीले सघाउदै आउनुभएको छ । श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिल बहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्नु हुन्छ । सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उहाँले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आउनुभएको छ ।

घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरणका लागि यता उता लैजान मिल्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *