पोखरामा अडानले अड्कियो गठबन्धन, अन्तिम बैठक साँझ बस्दै

आदर्श अनलाइन, पोखरा
महानगर र उपमहानगर बाहेकका पालिकामा स्थानीय आवश्यताका आधारमा गठबन्धन गर्न सकिने केन्द्रको निर्देशनपछि गण्डकी प्रदेशका जिल्ला र पालिकामा सत्ता गठबन्धनमा रहेका दलहरूबीच दैनिकजसो बैठक चलिरहेको छ ।

दशौं पटकसम्म बैठक बस्दा समेत पार्टीहरूले आ–आफ्ना दाबी नछोडेपछि अब गठबन्धनभित्रका दलहरू छुट्टाछुट्टै निर्वाचनमा जाने अन्तिम तयारीमा छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक पालिका, वडा, जिल्ला हुँदै प्रदेश स्तरमा समेत बसिरहेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ४४ स्थानीय तहको प्रमुख जितेको कांग्रेस सिट संख्या अझै बढाउन चाहन्छ भने पाँच पालिका जितेको माओवादी र भोटको लेखाजोखा नै नभएको एकीकृत समाजवादीले आधाभन्दा बढी स्थानीय पालिका दाबी गरेका छन् ।

जनता समाजवादीका कुनै पनि उम्मेदारले पालिकाको प्रमुख र उपप्रमुख जितेका छैनन् । जनामोर्चाले भने एउटा पालिका प्रमुख जितेका थियो । गठबन्धनबीच पालिकाको भागबण्डा नमिल्दा अन्य दलहरूले समेत उम्मेदवार छनोट गरेका छैनन् ।

केही पार्टीले उम्मेदवारको नाम सिफारिस गरे भने कतिपय ठाउँमा सिफारिस समेत हुन सकेको छैन । गोरखा, म्याग्दी, तनहुँलगायत जिल्लामा गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने तयारी भैरहेको स्रोतको भनाइ छ ।

‘जनमत निकै कम भएका पार्टीको दाबी अस्वभाविक देखियो । कांग्रेस एक्लै पहिलो पार्टी भएको यहाँ पहिले जितेकै पालिका समेत छोड्नुपर्ने अवस्था आयो,’ कांग्रेसकाे गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले भन्नुभयाे, ‘जिल्लाको अवस्था हेरेर निर्णय लिनुस् भनेका छौं । धेरैले गठबन्धन नगर्ने शन्देस पठाउनुभएको छ ।’

गठबन्धनको प्रदेश स्तरीय बैठक शनिबार साँझ ५ बजे बस्दैछ । ४ बजेसम्म सबै जिल्लाको पछिल्लो अवस्थाबारे विवरण संकलन गर्ने र ५ बजे बैठक बस्ने कास्की माओवादी अध्यक्ष गायत्री गुरुङले बताउनु भयाे।

तल्लो तहमा नेताहरूले गठबन्धनको मर्म नबुझेका कारण समस्या भएको उहाँको भनाइ छ । ‘हामीले बुझाउन नसकेर हो कि किन हो कुन्नी । गठबन्धन हामीले सोचेजस्तो अगाडी गएन,’ उनले भनिन्, ‘धेरैले गठबन्धन गर्न नसकिने रिपोर्टहरू पठाइरहनुभएको छ । हामी अन्तिम पटक प्रयास गर्छौ ।’

गण्डकी प्रदेशका ३८ पालिकामा अघिल्लो निर्वाचनमा पाँच सयभन्दा कम मतान्तरले हारजित भएको छ । उक्त स्थानीय तहमा सबै दलले जित्ने दाबी पेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *