काठेखोला—५ मा गठबन्धनको चुनावी सभा

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका—५ माथिल्लो बिहुँमा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको साझा उम्मेदवारहरुको चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पाँच दलीय गठबन्धनका गाउँपालिका अध्यक्ष उम्मेदवार राजु थापाले काठेखोलाको भौतिक, आर्थिक र सामाजिक विकासका लागि आफुहरुले योजनावद्ध रुपमा काम गर्ने बताए ।

‘यहाँको सबै क्षेत्रको विकासका लागि हामीले योजना बनाएका छौं,’ उनले भने,‘यहाँको आर्थिक पक्ष, सामाजिक पक्ष र भौतिक विकासका क्षेत्रहरुलाई संगसंगै अगाडि बढाउनका लागि योजनावद्ध रुपमा काम गर्नेगरी हामीले कार्यक्रम बनाएका छौं ।’ उनले विगतको अनुभवको आधारमा वर्तमानमा काम गर्न अध्यक्षको उम्मेदवार बनेको बताए । ‘मैले जनप्रतिनिधिको रुपमा पहिले पनि काम गरेको छु, त्यसको अनुव पनि मसंग छ,’ उनले भने,‘वर्तमानमा काम गर्ने स्पष्ट योजना पनि छ । त्यसैले पाँच वर्ष यहाँको काम गर्नका लागि आफुलाई समर्पित गर्ने योजनाका साथ तपाईहरुको घरदैलोमा आएको छु ।’

विगतमा बाध्यताले विदेशिनु परे पनि आफु यहाँको समाजबाट कहिल्यै टाढा नभएको बताए । ‘एउटा परिस्थीतिमा बाध्यताले विदेशिनु प¥यो,’ थापाले भने,‘विदेशीनु परे पनि मेरो मन यतै थियो । यही ठाउँमा आएर जनताको सेवा गर्छु भन्ने दृढ संकल्पले मलाई फिर्ता ल्यायो । यहाँको समाज निर्माणका लागि आफुलाई समर्पित गर्नेछु ।’ कार्यक्रममा बोल्दै उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा तिलकले एमालेले भ्रमको सिर्जना गरेर निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने दुस्प्रयास गरे पनि त्यो सम्भव नभएको जिकिर गरे ।

‘एमालेका साथीहरुले केही भ्रमहरु सिर्जना गरेर निर्वाचनको नतिजा प्रभावित गर्ने कोशिस गरिरहुनभएको छ,’ उनी भन्छन्,‘अहिले सबै समाज बुझ्ने भैसकेका छन् । भ्रमको खेती सम्भव छैन ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता पियारी थापा सुप्रभाले जटिल राष्ट्रिय परिस्थीतिमा पाँच दलीय गठबन्धन निर्माण भएकाले स्थानीय निर्वाचनमा गठबन्धन उम्मेदवार जित्नुको विकल्प नभएको बताईन् ।

‘राष्ट्रियता, लोकतन्त्र, संविधान र मुलुक जोगाउनका लागि गठबन्धन बनेको हो,’ उनले भनिन्,‘केपी ओलीको सनकका कारण ध्वस्त हुन आँटेको मुलुक र संविधान जोगाउन गठबन्धन बनेकाले प्रतिगामी शक्तिहरुलाई पराजित गर्न सबै एकतावद्ध भएर निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न लाग्नुपर्छ ।’ नेकपा माओवादी केन्द्रकी नेतृ संविधान सभा सदस्य केशरी घर्तीले दुई तिहाईको सरकार हुँदाहुँदै सरकार चलाउन नसकेर संसद विघटन गरेका ओली र उनका अनुयायीहरुले देशको विकास गर्छन् भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने बताईन् ।

‘केपी ओलीलाई देश विकास गर्न कुनै अवरोध थिएन, दुई तिहाईको सरकार थियो,’ उनले भनिन्,‘आफैले सरकार चलाउन नसक्ने र आफ्नो ढंग नपुगेपछि संविधान र देश नै भड्खालोमा हालेर ठूलो संघर्षपछि प्राप्त उपलब्धीहरु नष्ट गर्ने काम गरेपछि गठबन्धन बनाएर प्रतिकार गरेका हौं ।’ कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले गत निर्वाचनमा एमालेले जितेको काठेखोलामा यस पटक पाँच दलिय गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

उनले गठबन्धनले सक्षम र निस्कलङ्क व्यक्तिहरुलाई उम्मेदवार बनाएका कारण निर्धक्क भएर मतदान गरे । गठबन्धन दलहरुकोले वडा नम्बर ५ को मौरीभर, गौश्वारा, जुकेपानी, बौरचौर, गणेशचोक, पोखरा लगायतका स्थानमा चुनावी सभा एवं घरदैलो अभियान सम्पन्न गरेको छ । कार्यक्रममा एकीकृत समाजवादी पार्टीका ओम शर्मा, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार ज्ञामनाथ कँडेल, वडाध्यक्ष शिवप्रसाद कँडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य भवानी कँडेल, जिपी कोईराला फाउण्डेन बागलुङका अध्यक्ष महेन्द्र कँडेल, काठेखोला—५ का निर्वाचन परिचालन संयोजक लिलाधर कँडेल, हर्कमान विक, कृष्णबहादुर पुन, गिता विक, भूमा पुन लगायतले मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस काठेखोला—५ का सभापति हरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शालिग्राम विक र सञ्चालन चुडामणि कँडेलले गरेका थिए । सोमबार गठबन्धनको चुनावी अभियान काठेखोला—६ तल्लो बिहुँमा सञ्चालन हुनेछ । काठेखोला गाउँपालिकामा गठबन्धतर्फ नेपाली काँग्रेसका राजु थापाले रुख चिन्ह लिएर गाउँपालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकले गिलास चिन्ह लिएर उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । काठेखोला—५ मा ज्ञामनाथ कँडेलको नेतृत्वमा रुख चिन्ह लिएर साझा गठबन्धनका उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *