बागलुङमा चुनाव प्रचारमा जुटे राजनीतिक दल

डम्मर बुढा मगर, बागलुङ
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न प्रदान भइसकेको छ । उम्मेदवारले चुनावी चिन्ह पाएपछि बागलुङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल उस्तै छ । चिया पसलदेखि चौतारासम्म पनि चुनावकै चर्चा छ । दलहरू प्रचारप्रसारमा लागेका छन् ।

घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरि रहेका छन् । बागलुङमा पाँच दलीय गठबन्धन, एमाले–राप्रपा गठबन्धनले चुनावी अभियान सुरु गरेको छ । एमालेले मनोनयन दर्ता गरेदेखिनै चुनावी अभियानमा लागेको छ भने पाँच दलीय गठबन्धनले शनिबारदेखि मात्रै अभियान सुरु गरेको छ । मनोनयन दर्ता गर्दा नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई मिलाउन केही समय लागेको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका कार्यकर्ताको उम्मेदवारी फिर्ता गराएपछि उनीहरु पनि तीव्र गतिमा चुनाव प्रचारमा लागेका छन् । बागलुङमा एमालेले पाँच दिनदेखि अभियान सुरु गरेकोमा गठबन्धनले शनिबारदेखि मात्रै थालनी गरेको छ ।

गठबन्धनले बागलुङ नगरपालिकामा वडा नम्बर १४ नारायणस्थानबाट चुनावी प्रचार अभियान सुरु गरेको कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिनु भयो । उहाँले नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरूको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने बताउनुभयो ।

गठबन्धनले जिल्लाको काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नम्बर ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन् ।

गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिनुभयो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आइतबार प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आइतबारदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागत रूपमा समयतालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दशै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ कांग्रेसले बागलुङ, गलकोट नगरपालिकासहित काठेखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । एमालेले भने दशै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’लाई छाडेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *