प्रेस युनियनको महासचिवमा गृहजिल्लाबाट पौडेलद्वारा उम्मेदवारी घोषणा

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले गृह जिल्ला बागलुङ आएर नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा महासचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन बागलुङ शाखाले आइतवार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । प्रेस युनियन बागलुङले शाखाका पूर्व सभापति पौडेललाई महासचिवमा अघि सार्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रेस युनियनको बागलुङ शाखाका सभापति प्रदिप पन्तको पौडेललाई महासचिवमा उम्मेदवार बनाउन प्रस्ताव गरे पछि युनियनको पर्वत शाखाका सभापति उत्तम अधिकारीले समर्थन गरेका थिए । ‘मातृ शाखाको निर्णयलाई स्वीकार गरेर युनियनको महाधिवेशनमा महासचिवमा अघि बढ्न उत्प्रेरणा मिलेको छ,’ पौडेलले भने, ‘प्रेस युनियनको संगठनमा निरन्तर काम गरिरहेकाले शाखाको निर्णयलाई शिरोपर गर्दै अघि बढ्ने प्रण गर्छु ।’

पौडेलले आँफूले प्रेस युनियनको नेतृत्वमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, पत्रकारको पेशागत अधिकार तथा क्षमता विकास, ट्रेड युनियन अधिकार, पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पौडेलले पत्रकार र सञ्चार माध्यम जवाफदेही हुनुपर्ने पनि धारणा राखे । निर्वाचनको बेला पत्रकार र सञ्चार माध्यमले पक्षधरता लिन नहुने बताए । युनियन बागलुङ शाखाका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जेठ १३ र १४ गते हेटौडामा हुने महाअधिवेशनमा शाखाको तर्फबाट महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

बागलुङ शाखाले महासचिवमा पौडेललाई सहयोग गर्न केन्द्रीय पदाधिकारी, युनियनका सबै जिल्ला शाखा तथा केन्द्रीय पार्षदलाई अपिल गरेको छ । करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल युनियनको जिल्ला सदस्य, जिल्ला उपसभापति, जिल्ला सभापति हुँदै युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल मोफसलबाट अहिले राजधानीमा रहेर नागरिक दैनिकमा कार्यरत छन् । पौडेलले सयपत्री एफ.एम.मा सम्पादक, मुक्तिक्षेत्र दैनिकमा कार्यकारी सम्पादकको रुपमा सम्पादकीय नेतृत्वमा बसेर पनि काम गरेका छन् ।

श्रमजिवी पत्रकारको मुद्दा, पेशागत अधिकार, पत्रकारको संस्थागत क्षमता विकासमा क्रियाशिल पौडेल कुशल पत्रकारको छबी बनाएका छन् । पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नाकोत्तर गरेका पौडेले खोलमूलक समाचार, अर्थतन्त्र, भ्रष्टाचारको विरुद्ध कलम चलाउँदै आएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार, नेपाल आर्थिक पत्रकार समाजद्वारा प्रदान गरिने सेजन अवार्ड लगायतका दर्जनौं संस्थाबाट पुरस्कृत पौडेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कँडेल, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाली कांग्रेसका कोषाध्यक्ष श्रीधर कँडेल, प्रेस सेन्टर गण्डकी प्रदेशका उपसभापति राम थापा अविरल, नेपाल महिला संघका अध्यक्ष सकुन्तला शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष नविन शिशिर वि.क., प्रगतिशिल पत्रकार संघका सचिव विजय राना लगायतले मन्तव्य राखेका थिए । युनियनका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शाखाका उपाध्यक्ष संगम घर्तीमगर र सञ्चालन सचिव नारायण रिजालले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *