तंग्राममा एमालेप्रति आकर्षण : जनजाती संग्रहालयलाई पूर्णता दिइने प्रतिबद्धता

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रम बुधवार वडा नं. ४ तंग्रामका विभिन्न स्थानमा सम्पन्न भएका छन् । चुनावी सभामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले पाँचतिर फर्किएका राजनीतिक दलहरुले सत्ता स्वार्थका कारण गरेको गठबन्धन स्थानीय तहको निर्वाचन सकिदा नसकिदै भत्कने बताउनु भएको छ ।



सत्ता स्वार्थका लागि गरिएको गठबन्धनले चुनाव नजिते उनीहरुका बीच मारामार हुने र चुनाव जिती हाले पनि पहिलो वैठकबाटै झगडा शुरु हुने भएकाले जनताले विचार गरेर मतदान गर्नु पर्ने उहाँको भनाइ थियो । केन्द्रदेखि स्थानीय तहसम्मको विकास र समृद्धिका लागि स्पष्ट योजना र कार्यक्रम सहित एमाले चुनावी अभियानमा जुटेको भन्दै जिसीले एमालेका उमेदवारहरुलाई विजयी गराएर स्थानीय तहको समृद्धिको अभियानमा सहयोगी बन्न आव्हान गर्नु भयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य हरि बहादुर कुँवर र जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले काठेखोलाको विकास र समृद्धिका लागि एमाले नेतृत्वलाई विजयी गराउन आव्हान गर्नुभयो ।



एमालेका तर्फबाट काठेखोलामा अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले एमालेले अघिल्लो निर्वाचनमा तंग्राममा जनजाती संग्राहलय निर्माण गर्ने प्रतिवद्धता गरे अनुरुप संग्राहलय निर्माण कार्य शुरु भएको र आगामी कार्यकालमा त्यसलाई पूर्णता दिइने बताउनुभयो । उहाँले तंग्रामका टोल टोलमा पुग्दा एमालेप्रति जनताले देखाएको मायाले आफुहरु थप उत्साहित भएको बताउनुभयो ।
उपाध्यक्षका उमेदवार कोपिला पुनले महिलालाई राजनीति लगायत विभिन्न क्षेत्रमा अगाडि बढाउने, नेतृत्व लिनका लागि उत्साहित बनाउने र सबै क्षेत्रमा महिलाको अनिवार्य सहभागिता गराउने काम एमालेले गरेको भन्दै महिलाहरुलाई अगाडि बढाउने पार्टीलाई चुनावमा सहगोग गर्न आव्हान गर्नुभयो ।



कार्यक्रममा एमाले जिल्ला सदस्य तथा तंग्राम इन्चार्ज रन बहादुर थापा, जिल्ला सदस्य खिम प्रसाद पुन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम एमाले तंग्रामका अध्यक्ष सुरेश घर्तिको अध्यक्षता र पालिका कमिटि सचिवालय सदस्य आशिष थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
चुनावी सभा भन्दा पहिला काठेखोला गाउँपालिकामा एमालेका उमेदवारहरु अध्यक्ष डिल बहादुर कार्की, उपाध्यक्ष कोपिला पुन, वडा नं. ४ का वडा अध्यक्ष बल बहादुर थापा, सदस्यहरु थम कुमारी श्रीस, कुमारी परियार नेपाली, लक्ष्मण पुन र पदम बहादुर श्रीस सहित एमालेका नेता कार्यकर्ताहरुको टोलीले तंग्रामका फापरखेत, पेरिवाङ चिल्लेडाडा, रानीकराङ, ठुलोगाउँ लगायतका स्थानमा घरदैलो टोल भेला सम्पन्न गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *