‘कृषि र पर्यटन मार्फत रेशको विकास’

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिका—७ रेशमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारहरुको निर्वाचन प्रचार प्रसार अन्तर्गत रेशमा चुनावी सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार राजु थापाले रेशको विकासका लागि कृषि र पर्यटनमा ध्यान दिने बताए । ‘रेशमा कृषि र पर्यटनको अथाह सम्भवाना छ,’ उनले भने,‘हामी निर्वाचित भएर आएपछि रेशको विकासका लागि कृषि र पर्यटनलाई जोडेर विशेष कार्यक्रम ल्याउँछौं ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि रेशका होमस्टेहरुको स्तरवृद्धि गर्ने समेत बताए । ‘यहाँ सञ्चालनमा रहेका होमस्टेहरुको स्तरवृद्धि गरेर आउने पाहुनालाई आवश्यकता अनुसारको सेवा उपलब्ध गराउने अवस्था सिर्जना गर्नेछौं,’ थापाले भने,‘यहाँ आउने पाहुनलाई यही उत्पादन हुने वस्तुहरुको स्वाद चखाउनका लागि कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याउनेछौं ।’ रेशमा सुरु भएको चिया खेतीलाई थप विस्तार गरी प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर पुन तिलकले शिक्षा स्वास्थ्य र समाजिक विकासका क्षेत्रमा आफुहरुले नीतिक रुपमै सुधार गरी अगाडि बढ्ने बताए । ‘सामुदायिक विद्यालयमा राज्यको ठूलो रकम खर्च भैरहेको छ,’ उनले भने,‘त्यसले अपेक्षा गरे अनुसारको प्रतिफल भने दिएको छैन । नीतिगत रुपमै सुधारको खाँचो छ । हामीले त्यो काम गछौं ।’ कार्यक्रममा वडाध्यक्ष उम्मेदवार मनबहादुर थापाले लामो समय एमालेले एकलौटी गरेको रेशमा जनताको समस्या समाधान हुन नसकेको बताए ।

‘गत निर्वाचनमा पनि एमालेले जितेको थियो, विगतमा पनि एमालेले जित्दै आएको ठाउँ हो,’ उनले भने,‘तर एमालेले जनताको पक्षमा काम गर्न सकेन । यहाँको समस्या जस्ताको त्यस्तै छ ।’ गाउँ ठाउँको समस्या समाधान गरेर समुन्नत रश निर्माणका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले केपी ओलीको अकर्मण्यता र अराजकताका कारण देश दुर्घटनामा पुगेकाले त्यसलाई जोगाउन गठबन्धन निर्माण भएको बताए ।

‘केपीले जनतामाथि घात गरेर दुई तिहाई बहुमत भएको संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ डो¥याए,’ उनले भने,‘देशभक्त र अग्रगमनकारी शक्तिहरुबीच समन्वय गरेर देश र संविधान जोगाउनका लागि हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका हौं ।’ उनले स्थानीय निर्वाचनमा गठबन्धन उम्मेदवारलाई विजयी गराई प्रतिगमनका मतियारहरुलाई गतिलो सबक सिकाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य माओवादी नेतृ केशरी घर्ती, पूर्व सांसद टंकप्रसाद कँडेल, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, नेपाली काँग्रेस बागलुङका निवर्तमान सचिव चित्र कार्की, मिलन केसी, विशाल कार्की, लिलाराम विक लगायतले मन्तव्य राखेका थिए । गजेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रणबहादुर थापा र सञ्चालन गोविन्द कार्कीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *