‘सिगानाको सुन्तला ब्राण्डिङ गर्छौं’

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको चुनावी सभा बागलुङ नगरपालिका—८ सिगानामा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवारहरुको चुनावी सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गठबन्धनका मेयरका उम्मेदवार बसन्तकुमार श्रेष्ठले सिगानाको सुन्तलालाई ब्राण्डिङ गर्ने बताए । ‘सिगानाको सुन्तला बागलुङमा मात्रै हैन, देशमै पनि परिचित छ,’ उनले भने,‘यहाँको सुन्तलालाई ब्राण्डिङ गरेर देश विदेशमा विक्री हुने वाताबरण बनाउँछौं ।’

उनले सुन्तलाको उत्पादनमा वृद्धिसंगै कोल्ड स्टोरको व्यवस्थापन गरेर त्यसलाई बेमौसममा राम्रो मूल्यमा विक्री वितरण गर्ने वाताबरण सिर्जना गर्ने बताए । ‘सुन्तलाको उत्पादन राम्रो हुने भएकाले यहाँको सुन्तला खेती विस्तार गर्ने, त्यसका लागि किसानलाई सहयोग र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउँछौं,’ उनले भने,‘किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाएर नोक्सानी व्यहोर्न नपरोस् भनेर स्टोर गरेर राख्नका लागि भण्डारण गृहको व्यवस्था मिलाउँछौं । त्यसले गर्दा राम्रो मूल्यमा सुन्तला विक्री हुने वाताबरण बन्न्नेछ ।’ उनले कृषि पर्यटन मार्फत बागलुङ नगरपालिकालाई समृद्ध बनाउने बताए ।

कार्यक्रममा नगर उपप्रमुखका उम्मेदवार राजु खड्काले शिक्षा स्वास्थ्य र सामाजिक आर्थिक विकासमा आफुहरुले काम गर्ने बताए । ‘शिक्षा स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने अवस्था छ,’उनले भने,‘सामाजिक र आर्थिक विकास लागि मिहिन ढंगले अध्ययन गरेर कार्यक्रम तय नगर्ने हो भने नगरपालिका ऋणमा पर्ने देखिएको छ ।’ उनले भौतिक पूर्वाधारसंगै नागरिकको जीवनस्तर उकास्ने र स्वरोजगार मूलक कार्यक्रम सञ्चालनमा ल्याउने बताए । कार्यक्रममा बागलुङ नगरपालिका—८ सिगानाका गठबन्धनका वडाध्यक्ष उमम्मेदवार छमबहादुर कार्कीले सिगानाको समग्र विकासका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य चम्पा खड्काले देशलाई अप्ठ्यारोबाट जोगाउन बनेको गठबन्धन प्रतिगमनको विरुद्ध भएको बताईन् । ‘देशमा प्रतिगमन र प्रतिक्रान्ति हुने अवस्था सिर्जना भएपछि गठबन्धन बनेको हो,’ उनले भनिन्,‘केपी ओलीले देशलाई भड्खालोमा हालेकाले त्यसको विरुद्धमा बनेको गठबन्धन स्थानीय निर्वाचनमा पनि संगै आएको छ ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्माले केपी ओलीको अहमका कारण संविधान र देश नै खतरामा पर्दा लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफुहरु अगाडि बढेको बताईन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए । छमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टिकाराम थापाले गरेका थिए । गठबन्धनले कोरीखोला, बाँस्बोट, पोखरेडाँडामा चुनावी सभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *