मतदाता रिझाउन चौरासी पूजादेखि खेतबारीसम्म पुग्छन् उम्मेदवार

आदर्श अनलाइन, बागलुङ

बिहीबार गठबन्धबाट बागलुङ नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नेता बसन्त कुमार श्रेष्ठ बागलुङ नगरपालिका–९ तित्याङको खत्री थरमा चौरासी पुजामा सहभागी हुनुभयो । तित्याङ्कै घरदैलोमा बेस्त श्रेष्ठ धुवाखोला पुग्दा ब्रतबन्धमा समेत सहभागी भएर आफूलाई भोट माग्नुभयो । उहाँले चौरासी पुजा र ब्रतबन्धनमा निम्तो मान्दै भोट माग्दै गरेको बताउनुभयो । निर्वाचनको प्रचारप्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिएको बताउदै मतदाताले पुजाआजा गरेको स्थान र काम गर्दै गरेको खेत बारीमै पुगेर भोट माग्दै आएको बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिकाको नेकपा एमालेबाट नगर प्रमुखका पदका उम्मेदवार बन्नुभएका जनकराज पौडेललेले बागलुङ नगरपालिका–५ पन्चासेमा बारीको डिलमा चुनावी भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभयो । उहाँको मन्तव्य बारीमा मकै गोड्दै गरेका किसानहरुले सुन्दै काम गरेको देख्न सकिन्थ्यो ।

उहाँले भेटघाट कार्यक्रममा बोलेको भाषण यहाँका स्थानीयले बारीबाटै सुने । बारीमा मकै गोड्दै उम्मेदवारको भाषण सुनेका जनताले बसाईसराईका कारण गाउँ रित्तिन थालेको गुनासो गरे । नगरप्रमखुका उम्मेदवार जनकराज पौडेलले आफूले नगरप्रमखुमा जिते गाउँफर्क अभियान चलाउने भन्दै आस्वस्त पार्नभयो । यस्तै बागलुङ नगरपालिका–६ पञ्चकोटमा घरदैलोका क्रममा एमालेले घरमा नभेटिएका मतदातालाई बारीमै गएर मत माग्दै गरेको स्थानीय जनप्रतिनिधि कालिका सापकोटाले बताउनुभयो ।

उम्मेदवारहरुले धेरै भन्दा धेरै जनता संग साक्षत्कार गर्नका लागि विबाहमा जाने, चौरासीमा जाने, ब्रतबन्धमा पुग्ने किसान भएको खेत बारीमै पुग्ने गरेका छन् । पहिलो जस्तो ठूलो आम सभा गरी मान्छे बटुल्न दलका उम्मेदवारहरुले छोडी सकेका छन् । अहिले उनिहरुले मतमाग्ने शैलै परिवर्तन गरी भोटघाट र घरदैलोलाई प्राथमिकता दिन थालेका छन् । ठूलो आम सभा गरेर जनतालाई दिनभर दुख दिन भन्दा उहाँहरुकै घरमा पुग्ने, उहाँहरुले काम गर्ने स्थान खेत बारीमै पुग्ने गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार जनकराज पौडेलले बताउनुभयो ।

“अहिले गाउँमा कामको माचो छ, जनतालाई काम गरिरहेकै अवस्थामा भेटेर सुखदुख बुझ्दै हिडेका छौं” राप्रपाबाट बागलुङ नगर उपप्रमुखका उम्मेदवार बन्नुभएको सन्जय खड्काले भन्नुभयो “चुनावमा जनतालाई भन्दा उम्मेदवारलाई बढी दौडाउने अभियान अन्र्तगत घरदैलोमा हिडेका छौं, मतदाता भेट्न आमीकहाँ हैन हामी मतदाता कहाँ पुग्ने अभियानमा छौं ।”

पछिल्लो समय चुनाव लक्षित कार्यक्रममा टोलटोलमा पुग्न थालेको छ । गतनिर्वाचनमा आमसभा केन्द्रित राजनैतिक दल र उम्मेदवार अहिले जनघेटघाट र घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको नेपाली कांग्रेस बागलुङका सभापती जित शेरचनले बताउनुभयो ।

चार दिनदेखि लगातार मकै गोड्ने काममा खटिनुभएका बागलुङ नगरपालिका–८ सिगाना किसान नारायण थापाले बागलुङ नगरपालिकाका अधिकांश उम्मेदवार बारीमै भेट्न आएको बताउनुभयो । “पहिला–पहिलाका चुनावमा हामी भोटमाग्न आउदैछौं, आमसभामा आउनुहोस, घरमा आउनुहोस भन्ने गर्दथे” थापाले भन्नुभयो “अहिले भोट माग्ने शैली परिवर्तन भएको रहेछ, अहिले मतदाता जहाँछन् त्यही भेट्ने आउने गरेको पाइयो ।”

बागलुङमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी माहोल गर्माउलो भएसंगै उम्मेदवारहरु बिहान देखि बेलुका सम्मै मतदाताको घरदैलोमै हुँने गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बागलुङको दुर्गम देखि सुगम सम्म चुनावी गतिविधि बढेको छ । नेता कार्यकताहरु आफ्नो पक्षमा मत माग्नका लागि मतदाता रिझाउन व्यस्त देखिन्छन् । उम्मेदवारहरु मतदाताको घरआगन र खेतबारीमै पुगेर भोग मागिरहेका छन् ।

उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न मतदाताले आयोजना गरेको पुजा, विवाह, ब्रतबन्ध समारोमै पुग्ने समेत गरेका छन् । अहिले मकै गोड्ने समय भएकाले मतदाता घरमा भन्दा बढी खेत बारीमा भेटिने गरेको उम्मेदवारहरु बताउछन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूलाई खेतबारीमै पुग्ने गरेको रोकाले बडिगाड गाउँपालिकाका नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार राजन पाइजाले जानकारी दिनुभयो ।

खेतबारी देखि पुजाआजा सम्म उम्मेदवार मत मागन पुगेपछि मतदाताहरुले आफ्ना कुरा राख्न समेत पाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका ४ नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुले संयुक्त रुपमा आमसभा र घरदैलो गर्दै हिडेका छन् भने बागलुङ नगरपालिकामा एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो गर्दै आएको छ । अन्य नौ पालिकामा एमाले आफ्नो ढंगले चुनावी अभियानमा लागेको र अहिले आमसभा र घरदैलो अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *