‘लेखानीका हरेक सम्भावनालाई विकास र समृद्धिसंगै जोड्छौै’

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिकाको लेखानीमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभा काठेखोला गाउँपालिका—८ लेखानीमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले लेखानीका हरेक सम्भावनालाई केलाएर विकास र समृद्धिसंग जोड्ने बताए । ‘लेखानी भौगोलिक रुपमा, सांस्कृतिक रुपमा र जैविक रुपमा विशिष्टता भएको ठाउँ हो,’ उनले भने,‘यहाँका हरेक क्षेत्रलाई पहिचान गरेर हामीले योजनावद्ध ढंगले विकास र समृद्धिको काममा जोड्छौं ।’ उनले भौतिक विकास संगसंगै आर्थिक र सामाजिक विकासमा पनि हुनुपर्नेमा जोड दिए ।

‘अहिले गाउँघरमा माटेरबाटोन खन्ने र भवन बनाउने कामलाई मात्रै विकास भन्ने चलन छ,’ उनले भने,‘भौतिक विकास त जरुरी छँदैछ, त्यो संगै आर्थिक विकास र सामाजिक पनि उत्तिकै महत्वपूर्ण छ ।’ नागरिकको आर्थिक सामाजिक विकासका लागि शिक्षा स्वास्थ्यसंगै स्वरोजगार र सीपमूलक तालिममा युवा सहभागितालाई जोड दिए बताए । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको जरुरी देखेको छु,’ थापाले भने,‘युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकियो भने मात्रै हामीले देशको विकास गर्न सकिन्छ । युवालाई विदेश पठाएर आएको रेमिट्यान्सले देश बन्दैन ।’ लेखानीको बौद्ध विहार, हाते कागज उद्योगलाई थप विकास र विस्तार गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा तिलकले कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने बताए । ‘हाम्रो गाउँपालिका भित्रको मुख्य क्षेत्र भनेको कृषि, पर्यटन र पशुपालन नै मुख्य हो,’ उनले भने,‘यी क्षेत्रलाई प्राथमितामा राखेर योजना बनाउँछौं । आर्थिक समृद्धिको मुख्य पाटो नै यही हो ।’ कार्यक्रममा बोल्दै वडाध्यक्षका उम्मेदवार परमानन्द कँडेलले लेखानीको समग्र विकासका लागि आफुलाई मतदान गर्न आग्रह गरे ।

‘मैले लामो समय सामाजिक संस्थामा रहेर काम गरें, अब जनतासंग प्रत्यक्ष जोडिएर काम गर्नका लागि वडाध्यक्षको उम्मेदवार भएको छु,’ उनले भने,‘लेखानीको आर्थिक सामाजिक र भौतिक विकासका लागि मेले योजना तयार पारेको छु । तपाईहरु सबैको साथको आवश्यकता छ ।’ उनले पर्यटनबाट लेखानीलाई चिनाउने बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले केपी ओलीको अराजकताबाट देश बचाउनका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचन जित्न जरुरी रहेको बताए ।

‘गत निर्वाचनमा जनताले दिएको दुई तिहाई बहुमुतको दुरुपयोग गरेर पटक पटक संसद विघटन गर्ने र देश र संविधान माथि धावा बोल्ने काम केपी ओलीबाट भएपछि देश र संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो,’ उनले भने,‘ती प्रतिगामी शक्तिहरु अहिले पनि मुन्टो उठाउन सकिन्छ कि भनेर हेरिरहेका छन् । उनीहरुलाई परास्त गर्ने जिम्मा अब नेपाली जनताको काँधमा आएको छ । स्थानीय निर्वाचन मार्फत उनीहरुलाई सवक सिकाउनु जरुरी छ ।’ देश जनता र जनमतको अबमूल्यन गर्ने पार्टीलाई जनताले नै सजाय दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले केपी ओलीको प्रतिगमनका विरुद्धमा गठबन्धन बनेको र यो स्थानीय निर्वाचनमा गठबन्धनले जित्नु जरुरी रहेको बताए । ‘यो निर्वाचन गठबन्धनले जित्नुपर्छ, किनकी यो गठबन्धन अग्रगमनको गठबन्धन हो, प्रतिगमनको विरुद्धको गठबन्धन हो,’ थापाले भने,‘देश र संविधानको रक्षार्थ हामीले गठबन्धन गरेका हौं । हामीले जित्नुको विकल्प छैन ।’ उनले ओली प्रवृत्ति देश र संविधानका लागि घातक भएकाले गठबन्धन गरेर त्यसको प्रतिरोध गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य केसरी घर्ती, नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्र थापा, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, काँग्रेस नेता गोविन्द कँडेल, मदन श्रीस, मोमबहादुर रोका, रामबहादुर पुन लगायतले बोलेका थिए । सूर्य कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मोमबहादुर रोका र सञ्चालन डानसिंह श्रीसले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *