दश पालिकाको नेतृत्वमा जम्मा दुई महिला, वडामा शुन्य नेतृत्व

आदर्श अनलाइन, बागलुङ
१० पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडा अध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् । बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भएपनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधिहरु वडा सदस्यमा मात्रै सिमित भएको पाइएको छ ।

४ सय ४५ जना जनप्रतिनिधीको लागि बागलुङमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका बाहेक प्रमुखमा १, उपप्रमुखमा १ र वडा सदस्यमा ८ जना गरि १० जना मात्र महिला निर्वाचित भएका छन् ।

बागलुङका चार नगरपालिका र छ गाउँपालिका मध्ये २०७४ सालको निर्वाचनमा ६ पालिकाको उपप्रमखु र उपाध्यक्षमा महिला थिए । तर अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हिराकुमारी छन्त्यालमात्रै निर्वाचित हुनुभएको छ । अन्य पालिकामा पुरुषलेमात्रै नेतृत्व गर्ने भएका छन् । बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाएपनि जित्न सकेनन् ।

पाँचदलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुँन नसकेको हो । २०७४ सालको निर्वाचनमा बागलुङको गलकोट नगरपालिकाको उपप्रमुखमा रेणुका काउचा, ढोरपाटन नगरपालिकाको उपप्रमखुमा करमती पुन, निसीखोला गाउँपालिकाको उपाध्यक्षमा शोभा कार्की, तमानखोला गाउँपालिकाको उपाध्यक्षमा मानसरी शेरचन, ताराखोला गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन र बरेङ गाउँपालिकाको उपाध्यक्षमा डिल कुमारी पुन निर्वाचित हुनुभएको थियो । तर अहिले गठबन्धनका कारण पाँच दलले कम मात्रै महिला उम्मेदवार उठाए भने एमालेले उठाएका सबै महिला उम्मेदवारहरुले हार व्यहोर्नु परेको छ । बागलुङ नगरपालिकामा राप्रपा संग तालमेल गरेको एमालेले अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको थियो । जसमध्ये ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली बाहेक अन्य पालिकामा जित हासिल गर्न नसक्दा महिला उम्मेदवार नेतृत्वमा आउन नसकेका हुन् ।

पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वटा वडा रहेको बागलुङमा वडा अध्यक्षमा महिला नेतृत्व शुन्य रहेको छ । गठबन्धले कांग्रेसबाट बडिगाडको अध्यक्षमा मात्रै महिला सिफरिस गरेको थियो भने तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी थियो । जस्मा कांग्रेस र माओवादीले उपाध्यक्षमा महिला उठाएपनि कांग्रेसका उपाध्यक्षमा हिरा कुमारी छन्त्याल बिजयी हुनुभएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा बागलुङ नगरपाकिला–३ को वडा अध्यक्षमा लक्ष्मी बाँस्कोटा र काठेखोला गाउँपालिका–८ लेखानीको वडा अध्यक्षमा चित्राकुमारी छन्त्याल विजयी हुनुभएको थियो ।
तर अहिले ८५ वडाको नेतृत्वमा महिला शुन्य भएको पाइएको छ । यस पटकको निर्वाचनमा जिल्लाको काठेखोला गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट गंगा थापा र काठेखोला गाउँपालिकाकै वडा नम्बर ८ मा नेकपा एमालेका चित्राकुमारी श्रीसलाई उम्मेदवार बनाएपनि दुवैले पराजय वेहोर्नु परेको छ ।

ऐनमा व्यवस्था भए अनुसार जिल्लाका ८५ वटा वडामा महिला सदस्य र दलित महिला सदस्य गरि १७० जना महिला बाहेक १ सय ७० जना खुल्ला सदस्यमा ८ महिला, पालिका प्रमुख र उपप्रमुख गरि २० जना मध्ये १÷१ जना महिला निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *