बागलुङ बजारमा ट्राफिक व्यवस्थापनका लागि जग्गा खोजी गरिने

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ति पहिलो पहल थालेका छन् । नगर कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि जग्गा खोजी गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ति दिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडा अध्यक्ष सहितको समिति बनाईएको छ । जसमा वडा नं. १ का वडा अध्यक्ष जयबहादुर खत्री वडा नं.३ का अध्यक्ष सोनी केसी लक्ष्मण र वडा नं. ४ वडा अध्यक्ष कुमार विक्रम क्षेत्री सदस्य रहेका छन् । समितिले अबको १० दिन भित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच वटा विषयगत समिति गठन गरिएको हो । नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं.–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं. –११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं.–८ का वडा अध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद व्यवस्थापन समितिमा वडा न.–९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमार विक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका समेत निर्माण गरेको छ । आउँदो असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याईसक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले नगर क्षेत्र भित्र नयाँ सडक खोल्नेका लागि अति आवश्यकता बाहेक सबै रोक्ने निर्णय गरेका छ । नगरभित्रका सबै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नती गर्ने गरी योजना बनाएको हुँदा नयाँ सडक खोल्ने काम रोक्ने निर्णय गरिएको गौतमले बताउनुभयो ।

‘नगर भित्र सवै वडाका गाउँगाउँमा सडक पुगेको छ’ गौतमले भन्नुभयो,–‘कुनै स्थानमा नपुगेको भए वडाले निर्णय गरेपछि मात्र नगरबाट स्वीकृत हुन्छ, नयाँ सडक निर्माण गर्दा मापदण्ड अनुसार मात्र निर्माण गरिने छ, इन्जीनियर गएर हेरेपछि मात्र सडक खनिने छ, डोजरको प्रयोग पनि न्युनिकरण गरिनेछ ।’ अहिले भएका सडकको थप व्यवस्थापन गरी नगरभित्र बाह्रै महिना यातायात संचालनका निम्ती नगरपालिकाले यस्तो निर्णय गरेको गौतम भनाई छ ।

नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारको रुपमा रहेको मालढुंगामा पुल नजिकै रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाईटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडी बढ्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

‘अहिले भएका होडिङबोर्डलाई हटाई डिजिटल बनाएर सवै किसिमका समावेश गरीने छ । नगरप्रमुख श्रेष्ठले भने,– ‘व्यवसायीक सँगै बागलुङको पहिचाहन झल्कीने विद्युतीय होडिङबोर्ड बन्नेछ । झोलुङेगे पुल र आसपासका क्षेत्रमा रहेका बोर्डहरु पनि हट्ने छन । बागलुङ प्रवेश गर्दा सुन्दर र सफा देखिनेछ ।’ कार्यपालिकाले संघ र प्रदेश सरकारले डिपिआर गरेका योजनाहरुलाई स्वीकृतिका लागि पठाउने निर्णय समेत गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *