जनप्रतिनिधिमा युवा आकर्षण

डम्मर बुढा मगर, बागलुङ
केही समय अगाडिसम्म युवा पुस्तामा राजनीतिप्रति तीव्र वितृष्णा थियो । राजनीतिमा प्रायः बुढापाकाहरुनै बढी हाबी हुने गरेका थिए । तर पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण निकै बढेको पाइन्छ । नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवा आकर्षण बढेको देखायो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि त्यो प्रमाणित गरेको छ ।

बागलुङका सन्दर्भमा पनि धेरै युवाहरु पार्टी नेतृत्व तथा स्थानीय पालिकाको नेतृत्वमा चुनिएका छन् । स्थानीय तहको निर्वाचनमा बागलुङमा धेरै युवाहरु निर्वाचित भएका छन् । केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही नगरपालिकाको प्रमुख र उप्रमुखमा निर्वाचित भएको छन् । केही भने वडा अध्यक्ष र वडा सदस्यमा पनि निर्वाचित भएका छन् ।

बागलुङमा सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गरेका छन् । यसभन्दा अगाडि पनि अध्यक्ष बनेर पालिकाको नेतृत्व गरेका बुढा मगर अहिले ३५ वर्षका भए । उनी यसभन्दा अगाडिको निर्वाचनमा निर्वाचित हुँदा ३० वर्षका थिए । युवा जोस र जाँगरका साथ विकट तमानखोलालाई विकासको गतिमा अगाडी बढाएका छन् ।

पालिका उपप्रमुख मध्ये सबैभन्दा कान्छो उपप्रमुख ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत (कल्याण) हुन् । कायत ३३ वर्षका भए । केही महिना अगाडी भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा निर्वाचित कायत विद्यार्थी कालदेखिनै राजनीतिमा होमिएका थिए ।

४० वर्ष मुनीका पालिका प्रमुख तथा उपप्रमुख बागलुङमा धेरै नै छन् । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि युवा नेतृत्वमै पर्छन् । यसभन्दा अगाडी पनि गाउँपालिकाको अध्यक्ष भएर नेतृत्व गरेका शर्मा अहिले ३८ वर्षका भए । उनी अघिल्लो पटक निर्वाचित हुँदा ३३ वर्षका थिए । शर्मा पनि बरेङ गाउँपालिकाको विकासमा निरन्तर लागेका छन् । अघिल्लो कार्यकालमा राम्रो छवि बनाएर शर्माले यस पटक पनि राम्रो गर्ने नागरिकले अपेक्षा गरेका छन् ।

त्यस्तै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका उपप्रमुख भिमशेन वन र तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्याल पनि युवामै पर्छिन् । उनीहरु सबै ३८ वर्षका भए । वडा अध्यक्षमा धेरै युवाहरुनै निर्वाचित भएका छन् । ८५ वटा वडा रहेका बागलुङमा अधिकांश ४० वर्ष मुनिका छन् ।

त्यस मध्ये गलकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पवन हमाल जिल्लामै सबैभन्दा कान्छा जनप्रतिनिधिमा पर्छन् । उनी २७ वर्षका भए । जिल्लामा ३० वर्षभन्दा कम उमेरका जनप्रतिनिधिहरु कमै छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बुढापाको अनुभव र सुझावलाई आत्मसाथ गर्न सके विकास गर्न सकिने बताए । अध्यक्ष बढा मगरले अघिल्लो कार्यकालमा बुढापाका र पूर्व जनप्रतिनिधिहरुको सल्लाह सुझाव र समन्वयमा विकासका गतिविधिलाई चुस्त बनाएको भन्दै यो कार्यकालमा पनि त्यसरीनै अगाडी बढ्ने बताए ।

उनले युवा जोसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने र उनीहरुमा नयाँ र पृथक योजना हुने बताए । ‘युवामा केही काँचोपन भए पनि उनीहरुमा नयाँ र पृथक योजना हुन्छ, उनीहरुले पुराना पुस्तासँग सहकार्य गरेर उनीहरुको अनुभव र सुझावलाई आत्मसाथ गरियो भने विकास गर्न सजिलो हुन्छ’ अध्यक्ष बुढा मगरले भने ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पाका पुस्ताको प्रेरणाबाट युवाले परिवर्तन ल्याउन सक्ने बताए । उनले बुढापाकामा धेरै ज्ञान हुने र उनीहरुबाट सिकेका कुरा व्यवहारमा लागु गर्न सके समाज रुपमान्तरमा टेवा पुग्ने बताए । उनले यस अगाडिको कार्यकालमा उनीहरुसँग सुझाव लिएर विकास निर्माणमा जुटेको बताए ।

‘अग्रजहरु हाम्रा लागि ज्ञानका स्रोत हुन्, उनीहरुबाट ज्ञान लिएर युवा पुस्ताले नयाँ ढंगले योजना बनाएर काम ग¥यो भने त्यो विकास दीर्घकालीन हुन सक्छ,’ अध्यक्ष शर्माले भने ‘हामीले पनि उहाँहरुसँग सहकार्य गरेर विकास निर्माणमा जोड दिएका थियौँ, दिँदै जानेछौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *