ढोरपाटनमा प्रमुख प्रशासकीय अधिकृतको दादागिरी : आफूखुसी २९ कर्मचारी निष्कासित

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाबाट २९ कर्मचारी निष्कासित भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले कर्मचारीलाई आफू खुसी कामबाट निष्कासित गर्नु भएको हो । उहाँले दादागिरी शैलीमा कर्मचारीलाई निष्कासन गरेको निष्कासित कर्मचारीको आरोप छ । निर्वाचनपछि कर्मचारी निष्कासन गरेपछि राजनीतिक पूर्वाग्राहको आधारमा उनीहरुलाई हटाइएको जनगुनासो आएको छ ।

निष्किासित भएका सबै कर्मचारीको करार अवधी असार मसान्तसम्म रहेको छ । निष्कासित भएका कर्मचारी धनबहादुर विकलाई नगरपालिकाले २०७८ असार १५ गते शिक्षा शाखाको कार्यालय सहयोगीका रुपमा नियुक्ती गरेको थियो ।

उहाँ नेकपा माओवादी सम्बद्ध प्रेस सेन्टर नेपालको जिल्ला सदस्य भएपछि नगरपालिकाले मंसिर १ गते वडा नम्बर ९ को कार्यालयमा सरुवा गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराइले राजनीतिक पूर्वाग्रहको हिसाबले सरुवा र निष्कासित गरेको विकको भनाई छ । भट्टराईले नगरपालिकामा कर्मचारीकोभन्दा पनि एमालेको नेता भएर काम गरि रहेको आरोप छ ।

‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले हामीलाई राजनीतिक पूर्वाग्रह राखेर निष्कासित गर्नुभयो, म मंसिरमा प्रेस सेन्टर नेपालको जिल्ला सदस्य हुँदा पनि नगरपालिकाको शिक्षा शाखाबाट वडा नम्बर ९ को कार्यालयमा सरुवा गरेका थिए, त्यति बेला निष्कासित गर्न नमिलेर होला,’ विकले भन्नुभयो ‘अहिले एमालेलाई सहयोग नगरेका कारण जागिरबाट निकालियो, यो हामीमाथि भएको अन्याय हो ।’

नगरपालिकाले लाकुरीबोट स्वास्थ्य केन्द्रमा अनमीका रुपमा नियुक्त गरेको उर्मिला विकलाई पनि निष्कासित गरेको छ । निष्कासितमा परेकी विकले आफूलाई कुनै पनि जानकारी नदिई निष्किासित गरेको बताउनुभयो । गत फागुन २० गते मात्रै नियुक्ती पाएकी विकले अहिलेसम्म तलब समेत नपाएको गुनासो गर्नुभयो ।

‘मलाई असार मसान्तसम्म भनेर फागुन २० गते नियुक्त गरेको थियो, मैले अहिलेसम्म काम गरेको तलब पनि पाएको छैन, मैले काम गरेको तलब त मलाई जसरी पनि दिनुपर्छ,’ विकले भन्नुभयो ‘मैले निरन्तर काम गरि रहेको थिएँ, नगरपालिकाले दिएको जिम्मा मैले पूरा गरेको थिए, मलाई कुन आधारमा अवधी नपुग्दै निकाल्यो मैले बुझ्न सकि राखेको छैन ।’

यस विषयमा बुझ्न खोज्दा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको फोन उठेन । उपमेयर धनबहादुर कायतले राजनीतिक आस्थाको आधारमा कर्मचारी हटाएको बताउनुभयो । उहाँले नगर कार्यपालिकाको बैठक समेत नराखि आफू खुसी कर्मचारी निष्कासित गरेको बताउनुभयो । उपमेयर कायतले करार अवधी नसकिँदासम्म निष्कासित कर्मचारलाई काममा नफर्काए करारमा नियुक्त गरेका सबैलाई हटाएर विधि प्रक्रिया अनुसार नियुक्त गर्नु पर्ने बताउनुभयो ।

‘राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई निष्कासित गरिएको छ, यो राम्रो विषय होइन, हामीले निष्कासित कर्मचारीहरुको करार अवधीसम्म कममा फर्काउँ भनि रहेका छौँ, यदि त्यो नभए करारमा नियुक्त गरेका सबै कर्मचारी हटाएर विधि प्रक्रिया अनुसार राख्नु पर्छ भनि रहेका छौँ’ उपमेयर कायतले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर कर्मचारी निकालेको बताउनुहुन्छ । भट्टराइले आफूलाई कर्मचारी निकाल्ने अधिकार भएको भन्दै चित्त नबुझे कानुनी उपचारमा जान चेतावनी समेत दिनुभयो ।

‘कर्मचारी निकाल्ने अधिकार मलाई छ, मैले मेरो अधिकार प्रयोग गरेर निकालेको छु, चित्त नबुझे कानुनी उपचारका लागि सम्बन्धित ठाउँमा जान सक्नुहुन्छ’ भट्टराईले भन्नुभयो । निष्कासित हुनेमा स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर, सवारी चालक, नगर प्रहरी र कार्यालय सहयोगी रहेका छन् । भट्टराइले आन्तरिक स्रोतको अभाव तथा दरबन्दीभन्दा बढी कर्मचारी भएका कारणले उनीहरुलाई हटाएको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *