बजारको कोलाहल बिर्साउनेछ विरेन्द्र–ऐश्वर्य उद्यानले

आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि अस्तव्यस्त बनेको बागलुङ बजार भित्रको एक मात्रै उद्यान विरेन्द्र–ऐश्वर्य उद्यान पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले पार्कमा फूल लगाउने, ढुङ्गा छाप्ने, दुबो रोप्ने र विद्युतीकरणको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त बनेको पार्कलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरा सहित पुननिर्माण थालिएको थियो । पार्क अहिले फिनिसिङको चरणमा रहेको छ ।

बागलुङ बजारको कोलाहलबाट एक छिन भएपनि मुक्त हुनका लागि पार्कले ठूलो महत्व राख्ने स्थानीयको भनाई छ । निकै सुन्दर तथा प्राकृतिक रुपमा हराभरा रहेको पार्क नगरपालिकामा जनप्रतिनिधि विहिन हुँदा संरक्षणको अभावमा उजाड बनेको थियो । पछि २०७४ को निर्वाचनपनि जनकराज पौडेलको नेतृत्वमा आएको जनप्रतिनिधिले पार्क संरक्षणको लागि निजी क्षेत्रलाई दिएपनि काम भएको थिएन । चालु आर्थिक वर्षमा भने बागलुङ नगरपालिकाले आफ्नै लगानीमा पार्कलाई आधुनिक र परम्पराको समिश्रण गरेर पार्क निर्माण गरिरहेको र पार्कले विस्तारै पृथक स्वरुप लिन थालेको छ ।

बीरेन्द्र ऐश्वर्य पार्क पुननिर्माणकोे अहिले ६६ प्रतिशत काम पुरा भइसकेको थप एक महिना ठेक्का म्याद थपरेर काम सम्पन्न पश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो । “पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फुल रोप्ने, दुवो लगाउने तयारीमा छौं” इन्जिनियर घर्तीले भन्नुभयो “असार मसान्त सम्म सबै काम सकिनेछ, पार्क निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकहरुलाई समेत यसले आकर्षण गर्ने छ ।”

पार्क पुननिर्माणले बागलुङ बजारको कोलाहलमा बस्दै आएका स्थानीयलाई समेत कोलाहल बिर्साउने स्थानीय सुमन रानाले बताउनुभयो । “बागलुङ बजारमा एकै छिन विश्राम गरौ भन्ने कुनै ठाउ थिएन, पार्क कुरुप बनेपछि झनै समस्या थियो” रानाले भन्नुभयो “यो कोलाहल विर्साउने ठाउँका रुपमा विकास भएको छ, साँघुरो बागलुङ बजारमा एकै छिन आनन्द लिने ठाउँका रुपमा पार्क निर्माणले अन्तिम चरणमा आएको पाइयो ।”

बागलुङ नगरपालिकाले एए कन्ट्रक्सन संग रु. ८४ लाखमा चार महिनामा पार्क पुननिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । वैशाख ३ गते सम्म सक्नुपर्ने पार्क अहिले . असार सम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

पञ्चायत कालिन समयमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यको शालीक सहित पार्कको सुन्दरीकरण तथा स्थापना गरिएको थियो । तर वि.स २०६२÷०६३ को जनआन्दोलनको क्रममा पार्क भित्रका विरेन्द्र–ऐश्वर्यको शालिक फुटाईपछि पार्क क्रमश कुरुप हुँदै आएको थियो ।

सार्वजनिक महत्व बोकेको स्थान डेढ रोपनी क्षेत्र सडक बिस्तारका क्रममा घटेको छ । पार्कको मुख्यभागमा पानीको फोहोरा र विद्युतीकरण शौन्दर्य हुँनेछ भने पदमार्गमा ताराखोलाको स्लेट ढुङ्गा छापिएको छ । पार्क वरपर विभिन्न फूल र विरुवाहरु रोपिने छ ।

देशकै पुरानो सभ्यता र राजतन्त्र झल्काउने पार्क पुननिर्माण अन्तिम चरणमा पुगेपछि पार्क संरक्षणको माग गर्दै आएका बागलुङ बजारबासी खुसी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *