मध्यपहाडी राजमार्गको हटिया–बुर्तिबाङ खण्डको ठेकेदारलाई सात दिने स्पष्टकीकरण

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्रे भएको छ । निर्माण कम्पनीले कालोपत्रे गरेर सडक नबुझाउदै सडकमा खाल्टाखुल्ट परेको, मापदण्ड अनुसार कालोपत्रे नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाईसात दिने स्पष्टीकरण सोधिएको छ ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीको नाममा आज एक सूचना प्रकाशित गर्र्दै सात दिन भित्र कार्यालयमा आई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको छ । हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

स्वच्छन्द–शंकरमाली जेभीको आधिकारिक प्रतिनिधि इ. हेमराज गुभाजुका नाममा आयोजनाले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरेको छ । कालोपत्रे भएको सडक समेत खाल्टाखुल्टी परेको, फिनिसिङ नगरेको र सम्झौता अनुसारको पूर्वाधार समेत नबनाएको र पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“बुर्तिबाङदेखि निसीखोलासम्म जुन सडक कालोपत्रे भएको छ त्यस्तै हुनुपर्ने थियो, हटिया–बुर्तिबाङ खण्डमा त्यस्तो राम्रो संग कालोपत्रे भएको छैन” भण्डारीले भन्नुभयो “सडक एक चरण कालोपत्रे मात्रै गरेर लामो समय छोड्दा सडक झनै बिग्रिएको छ, सडक बुझाउनु अघि सडक पुरै मापदण्ड अनुसार तयार हुन आवश्यक छ, त्यो हुन नसक्दा ठेकेदारलाई स्पष्टीकरण सोधका हौं, सात दिन भित्र कार्यालयमा ठेकेदार नआए कानूनी प्रकृया अगाडी बढ्छ ।” हस्तान्तरण नभएको सडक मर्मतका लागि अर्को ठेक्का लगाउन नमिल्ने उहाँको भनाई छ ।

सात दिन भित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनी समेत दिएको छ । ठेक्का अन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो । तर निर्माण व्यवसायीको व्यवास्ताका कारण आयोजनाले स्पष्टकीकरण सोधेको छ ।

सडकलाई मर्मत सम्भार गर्ने, पहिरो पन्छाउने जस्ता कार्य हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, आयोजनाले दिएको कार्यतालिका अनुसार काम नभएको र काम सम्पन्न गर्ने तर्फ निर्माण व्यवसायी अग्रसर भएको नदेखिएपछि ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको आयोजना प्रमुख भण्डारीको भनाई छ । हटिया–बुर्तिवाङ खण्ड अन्र्तगत ५० किलोमिटर सडक पर्दछ । उक्त ठेक्का आर्थिक वर्ष २०७०÷७१ लगाएर दुई वर्ष भित्रै सडक कालोपत्रे भएपनि सडक अहिले क्षतविक्षत भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *