डम्मर बुढा मगर, बागलुङ
केही वर्ष अगाडीसम्म बागलुङका ग्रामीण क्षेत्रमा क्षेत्रमा थुप्रै ढुंगा र खरले छाएका घुमाउने घरहरु देखिन्थे । ढुंगा माटोको गारो । रातो माटो र सेतो कमिरोले पोतिएका घरहरु गाउँभरी देख्न पाइन्थे । यस्ता घरहरुले शहरबाट गाउँ पुगेकाहरुलाई फुरुङ्ग बनाउने गर्थे । काठेले बनेका घरका झ्याल ढोका कलात्मक शैलीमा बनाइएका हुन्थे । झ्याल ढोकामा बनेका विभिन्न आकृतिले धेरैलाई आकषिर्त गर्थे तर अहिले ति घरहरु लोप हुँदै गएका छन् ।
यस्ता घरहरु बागलुङका ग्रामीण भेगमा बढी देख्न सकिन्थ्यो । पछिल्लो समय यस्ता मौलिक घर देख्न मुस्किल पर्न थालेको छ । मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको गलकोट नगरपालिका वडा नम्बर १० का चन्द्रबहादुर घर्ती मगरले बताउनुहुन्छ । उहाँले केही वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भए पनि अहिले १÷२ वटा पनि भेट्याउन मस्किल हुने बताउनुभयो ।
‘पहिले त गाउँ भरी घुमाउने घरहरु देख्न सकिन्थ्यो, अहिले त सबै भत्किए, बुढा पुरानाले संरक्षण गरेर राखेका थिए पहिले त, अहिलेका पुस्ताले यस्तो घर मन नपराउने र पक्की घर रोज्ने हुँदा घुमाउने घरहरु लोप भए,’ उहाँले भन्नुभयो ‘यस्ता घरहरु संरक्षण गर्न सके हाम्रो मौलिक संस्कृति बच्ने थियो होला, बुढा पुराना मरेपछि त त्यस्ता घरहरु पनि भत्किएर सकिए ।’
उहाँले आफू पनि घुमाउने घरमै जन्मे हुर्केको भन्दै पछिल्लो समय गाउँमा भएका १/२ वटा त्यस्ता घरहरु पनि जीर्ण बनेको बताउनुहुन्छ । घर्तीले त्यस्ता घरहरुको संरक्षण गर्ने सके बाहिरी पर्यटकको लागि रोजाईमा पर्न सक्ने भन्दै गाउँमा जीर्ण अवस्थामा रहेका घुमाउने घरहरुको संरुक्षणमा स्थानीयहरु लाग्नु पर्ने बताउनुभयो ।
‘घुमाउने घर त हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको छ, अहिले गाउँमा धेरै त्यस्ता घरहरु त छैनन् तर पनि जति छन् त्यसको मर्मत सम्भार र संरक्षणमा हामीहरु लाग्नु पर्छ, घुमाउने घरहरु त पर्यटकको रोजाईमा पनि पर्ने गरेका छन्’ उहाँले भन्नुभयो ‘त्यसले गर्दा पनि यसको संरक्षण जरुरी छ, अहिलेका मान्छेले घुमाउने घर के भन्ने पनि थाहा पाउँदैनन् गाउँमा सबै फरक शैलीमा निर्माण भएका घरहरु छन् ।’
अर्का स्थानीयमा चन्द्रकली विकले घुमाउने घर बनाउन गाह्रो हुने हुँदा हराउँदै गएको बताउनुहुन्छ । अहिलेका घरहरु भन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी डकर्मी समेत नपाइने गरेको उहाँको भनाई छ । विकले पछिल्लो समयमा गाउँमा मान्छेहरु कम हुँदै गएको हुँदा यस्ता घरहरु लोप हुँदै गएको बताउनुहुन्छ ।
‘यो घर अन्य घरभन्दा बनाउन नै गाह्रो हुन्छ, त्यसका लागि सिकर्मी डकर्मी नै पाइँदैनन्, घर बनाउने मान्छे नै नभएपछि कसरी घुमाउने घर बनाउने, अहिलेका मान्छे गाउँमा बस्नै छाडे, झन् घुमाउने घरको त के कुरा ?,’ उहाँले भन्नुभयो ‘अहिलेका मान्छेलाई पक्की सिमेन्टे बनेको घर चाहिन्छ, यस्तो घरमा बस्न समेत रुचाउँदैनन्, त्यसले गर्दा पनि होला घुमाउने घर गाउँमा हराउँदै गएको छ ।’
उहाँले ग्रामीण क्षेत्रमा पनि शहर बजारमा जस्तै आधुनिक शैलीका घर भवन बन्न थालेपछि घुमाउने घरसँगै घरको घर र ढुङ्गे घरहरु पनि लोप हुने अवस्थामा पुग्न थालेको बताउनुहुन्छ । विकले गाउँमा पनि अहिले पक्की घरहरु बन्न थालेको भन्दै घरको घर त विस्थापित नै भएको बताउनुभयो ।
‘अहिले त गाउँमा पनि ठूला सिमन्टीका घरहरु बन्न थाले, पहिले गाउँको चारै तिर ढुङ्गा माटोका घरुहरु हुन्थे, खरले छाएका घरहरु हुन्थे, अहिले त खरले छाएको घर पनि हराउन थालेको छ,’ विकले भन्नुभयो ‘मान्छे नै बदलिए, सबैले सुख खोज्छ, गाउँभन्दा बजार रोज्छ, त्यसले गर्दा गाउँमा घुमाउने घर मात्रै होइन, अन्य घरुहरु पनि लोप हुने अवस्थामा पुगेका छन् ।’
अहिले स्थानीय पालिका घुमाउने घर संरक्षणमाभन्दा जस्तापाताका घर बनाउने तर्फ लागि रहेका छन् । कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवनर पहिचान बोकेका हुन्छन् । यस्ता घरको संरक्षण गरि पर्यटक भित्राउन सकिने भए पनि जनप्रतिनिधिको यस तर्फ ध्यान पुगेकै छैन ।