‘बलेवा विमानस्थल संचालनको विकल्प छैन’

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बलेवा विमानस्थल संचालनका लागि कालोपत्रे भइसकेको छ । कालोपत्रे भएको तीन महिना पुरान हुन लाग्दा पनि संचालन सम्बन्धी केही निश्कर्ष निस्किन सकेको छैन । आइतबार विमान स्थल संचालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा संचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान संचालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए । विमानस्थल संचालनका विषयमा सुझाव संकलन र अवलोकनका लागि काठमाण्डौबाट आएका विज्ञ टोली प्रमुख डाक्टर जनक शाहले विमानस्थल संचालनका लागि तयार भएको हुँदा यहाँ छिट्टै नै विमान संचालन हुनु पर्ने धारणा राख्नु भएको थियो ।

उहाँले विमानस्थल संचालनका लागि राज्यले ठूलो लगानी गरि सकेको भन्दै यहाँ विमान संचालन नभए लगानीको प्रतिफल पाउन नसक्ने बताउनुभयो । ‘हामीले विमानस्थलमै पुगेर त्यसको अवलोकन ग¥यौँ, कालोपत्रे भइसके छ, रंगरोगन गरेर सिंघारिएको रहेछ, यसले विमान कतिबेला आउँछ भनेर कुरि रहेको छ, ’ उहाँले भन्नुभयो ‘राज्यले यति ठूलो लगानी गरेको छ, अब यहाँ जहाज चलाउननै पर्छ, यति चलेन भने लगानीको प्रतिफल शून्य हुन्छ ।’

बागलुङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष चक्र बहादुर खत्रीले विमान संचलानको विकल्प नभएको बताउनुभयो । उहाँले अहिलेसम्म ठूलो लगानी भइसकेको भन्दै अब जहाज संचालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष खत्रीले विमान संचालनपछि यस क्षेत्रको मुहार फेरिने समेत बताउनुभयो । उहाँले कालिगण्डकी करिडोर पनि अब छिट्टनै कालोपत्रे हुने र बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने सडक सहज बन्ने भन्दै यात्रुको कमी नहुने बताउनुहुन्छ ।

‘ठूलो समस्या धावनमार्ग कच्ची हुँदा थियो, अब अहिले कालोपत्रे भएर चटक्क परेको छ, यहाँसम्म पुग्ने सडकको हो समस्या कालिगण्डकी कोरिडोरको पनि छिट्टैनै कालोपत्रे हुने छ,’ उहाँले भन्नुभयो अब पहिलेको जस्ता समस्याहरु छैनन्, केही स–साना समस्याहरु छन्, ति सबै विस्तारै समाधान हुने छन्, विमान संचालनमा अब ढिलाई गर्नु हुँदैन ।

अध्यक्ष खत्रीले विगतमा धेरै चुनौतिका बाबजुत पनि विमान संचालन भएको भन्दै अब त्यस किसिमका समस्याहरु कम हुँदै गएको र यस क्षेत्रका आम नागरिकले विमान संचालनको प्रतिक्षा गरि रहेको बताउनुहुन्छ । उहाँले विमान संचालनपछि बागलुङका पर्यटकीय क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने र स्थानीयले रोजगारको अवसर पाउने बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले विगतमा भाडदर अस्वभाविक हुँदा नियमित संचालन हुन नसकेको भन्दै अब भाडा समायोजन गर्ने र नियमित विमान संचालनमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले विमान संचालन हुन नसक्ने समस्या मध्ये भाडानै बढी भएको भन्दै सबै पक्षले यसको समस्या समाधान गरे नियमित विमान संचालन गर्नु पर्ने बताउनुभयो ।

‘यस अगाडी विमान नियमित संचालन नहुनुमा धेरै कारणहरु छन्, त्यस मध्ये भाडा दर बढी हुनु पनि एक हो, भाडादर सुहाउँदो हुनुपर्छ, यस बारेमा सर्वसाधारको गुनासो धेरैनै थियो,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘धावनमार्ग पनि निकै राम्रो भएको छ, अब भाडा समायोजन गरौँ, सबै निकायलाई घचघचाउँ र नियमित उडान सुरु गरौँ ।’

२६ वर्षदेखि बन्द अवस्थामा र विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । धावनमार्ग कच्ची, यात्रु संख्या कम हुँदा धेरै समय संचालन हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *