फोहोरको डङ्गुरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

डम्मर बुढा मगर, बागलुङ
फोहोरको डङ्गुरले कालीगण्डकी कोरिडोर दुर्गन्धित बनाएको छ । बागलुङ बजार क्षेत्रबाट उठाइएको फोहोर अव्यवस्थित रुपमा कालीगण्डकी कोरिडोर छेउँमा थुपार्दा कोरिडोरमा यात्रा गर्ने यात्रुहरुलाई समस्या भएको छ । सडक छेउमा अस्तव्यस्त रुपमा रहेको फोहोरले यात्रु रोगको सिकार बन्नु परेको छ ।

चिन र भारत जोड्ने राष्ट्रय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको मालढुङ्गामा बागलुङ नगरपालिकाले बजारको फोहोर थुपार्दै आएको छ । अव्यवस्थित रुपमा थुपारिएको फोहोरले यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन् । यही सडक मार्फत दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन् । फोहोरको गन्दले गर्दा यात्रा गर्न निकै कठिनाई भएको यात्रुको गुनासो छ ।

सडक छेउमा रहेको डम्पिङ साइडबाट आएको गन्धले बाटोमा यात्रा गर्न निकै गाह्रो हुने गरेको यात्रु सुशिल मानन्धरले बताउनुभयो । उहाँले सम्बन्धित निकायले फोहोरको सही व्यवस्थापन गर्न नसके यसले थप जटिल समस्या निम्त्याउन सक्ने बताउनुहुन्छ ।

‘बाटोको छेउमै यस्तो दुर्गन्ध छ, सयौँ मान्छे यही सडकबाटै यात्रा गरि रहेका हुन्छ, उनीहरुलाई कति असर पु¥याएको छ,’ मानन्धरले भन्नुभयो । चिसो मौसममा खास्सै बाहिर गन्ध नआए पनि गर्मीको समयमा निकै गन्हाउने र यसको गन्धका कारण यात्रुहरु बाटो हिड्नै नसक्ने उहाँको भनाई छ ।

‘पुस मागको समयमा खास्सै गन्ध आउँदैन, यो गर्मी समयमा त निकै गन्हाउँछ, यसले त स्वास्थ्यमा निकै असर पु¥याएको छ,’ उहाँले भन्नुभयो ‘यस्तो सडक छेउँमाभन्दा सरकारले अन्य कुनै ठाउँमा फोहोर व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो, यसले त बाहिरबाट आउने पर्यटकलाई पनि राम्रो सन्देश दिदैन ।’

दैनिक यही सडक भएर यात्रा गर्दा फोहोरको दुर्गन्धले आफू र यात्रुहरु बिरामी पर्ने गरेको गाडी चालक ओमबहादुर श्रीसले बताउनुभयो । उहाँले गाडीमै फोहोरको गन्ध पस्दा यात्रुहरुले वान्ता गर्ने गरेको बताउनुहुन्छ ।

‘यो बाटोमा गाडी चलाउन लागेको धेरै वर्ष भयो, पहिलेदेखिनै यस्तै समस्या थियो, अहिले पनि उस्तै छ, फोहोरको कारणले कति बिरामी परियो, यात्रु पनि धेरै बिरामी पर्ने गरेका छन्’ उहाँले भन्नुभयो ‘गाडीमै फोहोर गन्ध पसेर यात्रुहरुले वान्ता गर्ने गरेका छन्, गाउँ जाने बाटो यही हो, अर्को बाटो छैन, यो फोहोरले हामीलाई निकै समस्या भएको छ ।

डम्पिङ साइडका रुपमा प्रयोग हुँदै आएको स्थलभन्दा केही माथि प्रसिद्ध कालिका मन्दिर हुँदा यहाँको फोहोरले गन्धका कारण मन्दिरमा समेत झिँगा भन्किँदा तिर्थालुलाई समेत असर पु¥याएको छ । नगरपालिकाले यस क्षेत्रमा वर्षौँदेखि फोहोर फाल्दै आएको छ । गाडीले बजार क्षेत्रको फोहोर दैनिक यही लगेर थुपार्दै आएको छ ।

फोहोरको सही व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले समेत योजना बनाउन सुरु गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँले यो समस्या लामो समयदेखि रहँदै आएको भन्दै अब यसको सही व्यवस्थापनका लागि नगरपालिकामा छलफल भइरहेको बताउनुभयो ।

उपप्रमुख खड्काले फोहोर व्यवस्थापनका विषयमा आफूहरु गम्भीर भएर लागेको भन्दै यसको सही व्यवस्थापन गर्नेमा आफूहरु प्रतिबद्ध भएको बताउनुहुन्छ । ‘यहाँको फोहोरको विषयमा हामीले नगरपालिकामा छलफल चलाएका छौँ, हामीहरु पनि गम्भीर छौँ यस बारे, यसको सही व्यवस्थापन हुने छ’ उपमेयर खड्काले भन्नुभयो ‘यस ठाउँको विकल्प पनि खोज्ने छौँ र फोहोरलाई सही व्यवस्थापन गर्ने छौँ ।’

अव्यवस्थित रुपमा थुपारिएको फोहोरको बारेमा धेरै पहिलेदेखि आलोचना आइरहेको छ । नागरिकको स्वास्थ्यका हिसाबले पनि यस क्षेत्र डम्पिङ साइडका रुपमा प्रयोग गर्नु नहुने देखन्छ । बागलुङ जिल्ला प्रवेशद्वार नजिकै रहेको डम्पिङ साइड उपयुक्त स्थानमा नभएको स्थानीयहरुको भनाई छ ।

डम्पिङ साइड नजिक रहेको बस्तीमा समेत फोहोरको गन्धले सताइरहेको स्थानीयको भनाई छ । हावा लाग्दा बित्तिकै फोहोरका कणहरु घर भित्रै आउँने उनीहरुको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *