गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : बेलढुङ्गा–पञ्चकोट पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाइने

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले बागलुङमा केही योजनाहरुलाई प्राथमिकताका साथ अघि सारेको छ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा बेलढढुङ्गा हुँदै पञ्चकोट पुग्ने पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाएर विकास गर्ने र ताराखोला र ढोरपाटनको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेर आलु उत्पादन बढाउने भएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममा बागलुङको बेलढुङ्गा देखि पञ्चकोट सम्मको पर्यटकीय पदमार्ग निर्माणलाई अघि बढाउने, नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र रहेको ढोरपाटन उपत्यकाको गुरु योजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ ।

यस्तै बागलुङको ढोरपाटन र ताराखोलामा रहेको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रका रुपमा विकास गरेर आलु उत्पादन बढाउनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने सार्वजनिक गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बेलढुङ्गा हुँदै पञ्चकोट आउने पर्यटकीय पदमार्ग निर्माण दुई वर्ष अधि देखि शुरु भएको थियो । पदमार्गमा ताराखोलाको ढुङ्गा छापेर साईकल समेत चलाउन मिल्ने बनाइएको थियो ।

अहिले सम्म झण्डै एक किलोमिटर पक्की र एक किलोमिटर कच्ची पदमार्ग निर्माण गरिएको पदमार्गले सार्थकता पाउन झण्डै दुई करोड बजेट लाग्ने छ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरमा साइकल ल्याण्ड सहितको पदमार्ग निर्माण थालेपनि चालु आर्थिक वर्षमा बजेट नआउदा रोकिएको थियो ।

अहिले गण्डकी प्रदेश सरकारले उक्त बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्गलाई प्राथमिकतामा राखेको छ । यस्तै ढोरपाटन उपत्यका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गुरु योजना बनाउने भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा ढोरपाटनको गुरुयोजना बनाउन बजेट व्यवस्थापन गर्ने बताइएको छ । ढोरपाटन आफैमा शुन्दर र चर्चित पर्यटकीय गन्तव्य भएपनि पर्यटकीय पूर्वाधारको समेत अभाव रहेको छ । नेपालमा निकै लाकेप्रिय रहेको ढोरपाटन र ताराखोलाको आलु उत्पादनलाई बढाउने प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत चासो देखाएको छ ।

आलु उत्पादनका लागि बागलुङको ताराखोला, ढोरपाटन, कास्कीको हेम्जा, गोरखाको धार्जे लगायतको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रका रुपमा घोषणा गरेर अनुदान दिने र आलु उत्पादन बढाउले गण्डकी प्रदेश सरकारले लक्ष्य लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *