आदर्श अनलाइन, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियर माथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा वाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
तमानखोला गाउँपालिका–१ का २९ बर्षिय महेन्द्र थापा र २८ बर्षिय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तमानखोला गाउँपालिका–१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरुले गत जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुन कुमार यादवलाई गालिगलौज तथा हातपात गरेका थिए ।
नियन्त्रणमा लिईएका दुवै जनाका विरुद्धमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
चौतर्फी दबावपछि प्रहरीले घटना भएको ११ दिन पछि उनीहरुलाई पक्राउ गरेको हो । घटनापछि दुवै जना फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो ।