बागलुङ बजार ढल निकास परियोजना : बजेट आउछ कार्यान्वयन हुँदैन


खेमराज गौतम, बागलुङ

बागलुङ बजारको ढललाई शुद्धिकरण गरेर नदीमा मिसाउने गरी तीन वर्ष अधि देखि बजेट आउन शुरु भएको बागलुङ बजार ढल निकास परियोजना अहिले सम्म अघि बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ सालमै ठेक्का प्रक्रियामा लैजनाका लागि संघीय सरकारको खानेपानी तथा ढल निकास विभागले बजेट बिनियोजन गरेपनि उक्त आयोजना २०७९ साल असारसम्म काम शुरुहुन सकेको छैन ।

बागलुङ बजारमा उत्पादन भएको ढललाई संकलन गरी प्रशोधन गरेर नदीमा मिसाउने, प्रशोधन केन्द्रबाट कम्पोष्ट मल निकाल्ने गरी ल्याइएको कार्यान्वयनमा नजादा वर्षेनी बजेट फ्रिज हुँदै आएको छ । कहिले विस्तृत अध्ययन प्रतिवेदन निमल्दा त कहिले प्रशोधन केन्द्रको जग्गा अभावका कारण लगातार तीन आर्थिक वर्षका लागि बजेट बिनियोजन हुँदा समेत कार्यान्वयनमा जान सकेको छैन ।

बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदुषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम गर्नका लागि बागलुङ नगरपालिका र ढल निकास विभागको चासोमा ढल निकासको योजना बनेको थियो ।

बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बजार दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसाइदा नदी प्रदुषित भएका कारण व्यवस्थित ढल निर्माणको योजना बागलुङ नगरपालिकाले ल्याएको थियो । ढल परियोजनामा प्रत्येक घरको शौचालयबाट उत्पादन भएको फोहोरलाई एकिकृत गरी शुद्धिकरण गरेर नदीमा मिसाइने योजना छ ।

बहुँबर्षे योजनामा समावेश भएको ढल निकास परियोजनाको कुल लागत झण्डै एक अर्ब रहेको डिपिआरमा उल्लेख छ । बातावरणका लागि उक्त योजना निकै फलदायी हुँने र नेपालकै नमूना आयोजनाका रुपमा यो रहने छ ।

आर्थिक वर्ष २०७७/७८ मा उक्त परियोजना शुरु गर्नका लागि रु.१२ करोड र आर्थिक वर्ष २०७८/०७९ मा रु. २० करोड बिनियोजन भएको थियो । उक्त परियोजना ठेक्कामा जान नसक्दा उक्त बजेट फ्रिज भएको छ । परियोजना निर्माणका लागि आगमी आर्थिक वर्ष २०७९/०८० मा समेत रु. १९ करोड बजेट बिनियोजन भएको संघीय सांरद डा. सूर्य पाठकले बताउनुभयो ।

बागलुङ नगरपालिकाले ल्याएका योजनामध्ये सबैभन्दा ठूलो योजना हो यो । अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि समेत उक्त परियोजना अघि बढाउन निकै चासो देखाइरहेको छ बागलुङ नगरपालिकाले ।

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले आगमी आर्थिक वर्षबाट बागलुङ बजार ढल निकास परियोजना ठेक्कामा गएर कार्यान्वयन जानेमा आशावादी हुनुहुन्छ । “तीन वर्ष पहिले देखि आएको योजना हो तर अहिले सम्म कार्यान्वयनमा गएको थिएन, अब भने डिपिआर लगभग अन्तिम चरणमा पुगेको भन्ने बुझेको छु” खड्काले भन्नुभयो “बागलुङ बजारको ढल शुद्धिकरण संगै पवित्र कालिगण्डकी नदिमा ढललाई शुद्धिकरण गरेर मात्रै मिसाउने कार्यले बजारलाई शुन्दर र बातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”

ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल शुद्धिकरण पश्चात नदीमा मिसाउँने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल निरयघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।

डिपिआर अन्तिम चरणमा पुगेका कारण अर्थिक वर्ष २०७९÷८० मा निर्माण प्रकृया शुरु हुँने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, म्यादी कार्यालयका प्रमुख कुल प्रसाद पौडेलले जानकारी दिनुभयो । बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको खानेपानी र ढल निकासको योजना हेर्नेगरी म्याग्दीमा स्थापना भएको कार्यालयले ढल निकास परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
“नगरपालिकाले जग्गा उपलव्ध बनाउने प्रतिबद्धता गरेको छ, त्यही अनुरुप जग्गा व्यवस्थापन भए एक वर्ष भित्रै कार्यान्वयनमा जान्छ” पौडेलले भन्नुभयो “ठूला योजना कार्यान्वयनमा आउनु अघिनै बजेट सुनिश्चतता आवश्यक हुन्छ, त्यसैले बजेट बिनियोजन हुँदै आएको थियो, दुई वर्षको बजेट फ्रिज नै भयो, तर आगमी आर्थिक वर्ष कार्यान्वयनमा आउला ।”

बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । घरमा निर्माण भएको च्यामबरबाट शाखा लाइन, मुख्य लाईन हुँदै ट्रिटमेन्ट प्लान्टमा लगेर ढलको शुद्धिकरण पश्चात नदिमा मिसाइने छ ।

ढल निकासको काम बागलुङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चार स्थित बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धिकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ ।

बागलुङ बजारको ढललाई शुद्धिकरण गरी नदिमा मिसाउदा बातावरण समेत शुद्ध हुने र ढल शुद्धिकरण गर्ने क्रममा कम्पोष्ट मल उत्पादन समेत हुँनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *