स्थानीय तहले आफ्नै सेवाकेन्द्र सञ्चालन गर्नु पर्छ : सरोकारवाला


आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय अदालतसम्म पुगेका मुद्धाका पीडितहरु होस्टाइल भएको प्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पुर्व समिक्षा कार्यक्रमका वक्ताले न्यायीक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप पीडामा पर्ने गरेको बताएका हुन् ।

उनिहरुले आर्थिक अवस्था कमजोर भएका कारण अधिकाशं पीडितहरु होस्टाइल हुने गरेको बताए । बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकाशं बहुविवाह कसुरका पीडितहरु अदालत सम्म पुग्दा होस्टाइल भइसक्ने गरेको बताएका थिए । समिक्षा कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले हिंसा पीडितको लागि राहत कोष स्थापना गर्ने, पीडितलाई रोजगारमा जोड्ने र उनिहरुको अवस्था बारे अनुगमन गर्ने प्रतिवद्धा व्यक्त गर्नुभएको थियो ।

खड्काले पछिल्लो समय गरिबी, अशिक्षा र अज्ञानताले मात्र नभएर धन सम्पत्ती र उच्च वर्गका व्यत्तिरुमा समेत परिर्वर्तित हिंसाका स्वरुप देखा पर्न थालेको बताउनुभएको थियो । समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले वेरोजगारी, आर्थिक अवस्था कमजोर र अशिक्षाको कारण पीडकलाई कानुनी दायरामा ल्याउँदै गर्दा उनिहरुको परिवार थप कमजोर बन्दै गएका घटनाहरु सार्वजनिक हुने गरेको भन्दै सरोकारवाला निकायले उनिहरुको अधिकारको बारेमा सचेत बन्दै अवस्था परिर्वतनको बारेमा सोच्नुपर्ने बताउनुभयो । अपराधमा संलग्न व्यक्तिले प्रतक्ष रुपमा एक, दुई जनालाई अन्यायमा परे जस्तो देखिए पनि उसको पछाडी पीडामा पर्नेहरुको संख्या ठुलो हुने भन्दै ज्ञवालीले स्थानीय सरकार, इन्सेक र सरोकारवाला नियकायहरु अन्य पीडितको बारेमा पनि संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार संगठन नेपालका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी जिसी कार्कीले हरेक स्थानीय तहले सेवाकेन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितलाई न्यायीक निकाय सम्म पुग्नको लागि आर्थिक अवस्थाकै कारण समस्या हुने गरेको भन्दै स्थानीय सरकार संवेदनशिल हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारले हिंसा पीडितको लागि कोष निर्माण गरेर गर्न सक्ने काम पनि नगरेको भन्दै उहाँले जिल्लाका १० वटै स्थानीय तहलाई हिंसा पीडित कोष स्थापना गर्नको लागि सबैले दवाव दिनुपर्ने बताउनुभयो ।

समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवहाक अध्यक्ष नविन शिशिर विक, संकल्प नेपालका गण्डकी प्रदेश संयोजक सावित्री खड्का, नेपाल पत्रकार महासंघका सह–सचिव तारानाथ आचार्य, पत्रकार संगम घर्ती मगर लगाएतले बोल्नुभएको थियो । समिक्षा कार्यक्रममा इन्सेक बागलुङले मानव अधिकार वर्ष पुस्तक २०२३ को लागि २०२२ जनवरी देखी जुन १५ सम्म प्रलेख गरेका २७ वटा घटनामाथी छलफल गरिएको थियो । जसमध्ये बाल विवाह १, बलात्कार र बलात्कार प्रयाश गरि १०, अपहरण तथा शरिर बन्धक १ गरि बालअधिकारका १२, हत्या र हत्या प्रयाशका १, बहु विवाहका ४, आत्महत्या दुरुत्सानका २ र घरेलु हिंसाका ८ गरि महिला अधिकारका १५ वटा घटना रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *