धौलागिरी अस्पताल : बढे बिरामी, घटे डाक्टर

आदर्श अनलाइन, बागलुङ

बागलुङको धौलागिरी अस्पतालमा गर्मि लागेसंगै बिरामीको चाप ह्वातै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

विरामीको चाप बढेसंगै फार्मेसी र प्रयोगशालामा समेत विरामीले लामो लाइन लगाउनुपर्ने अवस्था रहेको छ । विरामीको चाप ओपिडिमा मात्रै हैन ईमरजेन्सी र भर्ना वार्डमा समेत उस्तै चाप रहेको छ । पछिल्लो सयम धौलागिरी अस्पताल निकै सुधारिएको पनि छ । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाईमा विशेष ध्यान दिइएको छ । तर डाक्टरको समस्या भने अहिले सम्म उस्तै छ ।

दरबन्दीका डाक्टर नआउदा करार र छात्रवृतिका डाक्टरको भरमा अस्पताल चल्दा बिरामीलाई गुणस्तरीय सेवा दिन असहज भइरहेको छ । जेनतेन अस्पतालले गुणस्तरीय स्वस्थय सेवा दिएको बताएपनि अस्पतालले दरबन्दीका डाक्टर ल्याउन सकेको छैन ।

अस्पतालमा अहिले दैनिक ३०० देखि ४०० विरामी सेवा लिन आइरहेका अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । उहाँले मौसममा आएको परिवर्तनका कारण अस्पतालमा विरामीको संख्या बढ्दै आएको बताउनुभयो । उहाँले छालाको एलर्जी, ज्वरो, झाडापखला लगायतका विरामीहरु थपिएको बताउदै गत महिनाको तुलनामा विरामीको संख्यामा वृद्धि भएको पोखरलले जानकारी दिनुभयो ।

गर्मी याममा भाइरल रोग, सरुवा रोग खानपानबाट पैदा हुने रोग बढी लाग्ने गर्दछ । “पछिल्लो वर्षमा अस्पतालमा विरामीको चाप निकै छ, तर अहिले गर्मी लागेपछि विरामीको संख्यामा केही मात्रामा बढेका छन्” डा. पोखरेलले भन्नुभयो “तर अहिले अस्पतालबाट एकै पटक पाँच मेडिकल अधिकृतले छोडेर जानुभयो, मेडिकल अधिकृतको निकै महत्व छ, विशेषज्ञ डाक्टरहरुले धेरै ओपिडी विभाग हेर्नु हुन्छ, मेडिकल अधिकृत प्रयाप्त नहुँदा भर्ना वार्ड, आइसियु र इमेरजेन्सैमा सेवा दिन समस्या भइरहेको छ ।”

गर्मी लागेसंगै अस्पतालमा अहिले विरामीको संख्यामा वृद्धि भएपछि अस्पतालमा रहेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु व्यस्त देखिन्छन् । कतिपय विशेषज्ञ डाक्टरहरु बिहानै सात बजे देखि बेलुका चार वजेसम्म उपचारमा खटिएको पाइएको छ ।

वर्षातको समयमा दूषित पानीको प्रयोग गर्दा छाडा, वान्ता हुँने, पखला लाग्ने लगायतका समस्या हुँने कारण विरामीको संख्यामा वृद्धि भएको अस्पतालको भनाई छ । एक मेडिकल सुपरीटेण्डेन्ट सहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा दरबन्दीको मेडिकल सुपरीटेण्डेन्ट मात्रै हुनुहुन्छ भने मेडिकल अधिकृत र विशेषज्ञको सबै दरबन्दी खाली रहेको छ । अस्पतालमा अहिले दरबन्दीका डाक्टर नहुँदा करार र छात्रवृतिका डाक्टरले स्वास्थ्य सेवा दिइरहेका छन् ।

अस्पतालमा अहिले पाँच जना करारका मेडिकल अधिकृत, १० जना करार र छात्रवृतिका विशेषज्ञ डाक्टर कार्यरत रहेको भएपनि उनिहरुको समेत करार अवधी र छात्रावृतिको सेवा अवधी समापत हुँने अवस्थामा पुगेको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

छात्रवृतिमा अध्ययन गरेका विशेषज्ञ डाक्टरले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम अनुसार बागलुङमा आउने र दुई वर्ष सेवा गरेर जानेगरेका छन् ।

अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नभएपनि विशेषज्ञ सेवामा छात्रवृत्तिका डाक्टरहरुले राम्रो सेवा दिइरहेको मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले बताउनुभयो । उहाँले अस्पतालमा विरामीको संख्या क्रमश बढ्दै जानेर चिकित्सकको संख्या घट्दै जाने अवस्था रहेको बताउनुभयो ।

डा. पोखरेलले आफू अस्पतालमा चिकित्सक ल्याउनका लागि प्रदेश र संघीय मन्त्रालय धाइरहेको बताउनुभयो । अस्पतालले उपकरण, स्वास्थ्यकर्मी व्यवस्थापन र सरसफाईमा विशेष ध्यान दिएको भन्दै अस्पताललाई तत्कालै पाँच जना मेडिकल अधिकृतको आवश्यकता रहेको बताउनुभयो । उहाँले आइसियु, इमेरजेन्सी लगायतको सेवामा मेडिकल अधिकृत आवश्यक पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *