२१ महिनामा ३८ महिला तथा बालिका बलात्कृत


डम्मर बुढा मगर, बागलुङ
बागलुङमामा पछिल्लो समय बलात्कारको भयावह शृङ्खला देखिएको छ । २१ महिनामा ३८ बालिका तथा महिला बलात्कृत भएका छन् । बलात्कृत हुनेमा ४ वर्षीया बालिकादेखि ५८ वर्ष सम्मका महिला छन् । साउनदेखि हालसम्म २२ वटा बलात्कारका घटना भएका छन् । अधिकांश घटनामा नाबालिका तथा किशोरी पीडित छन् ।

जिल्ला अदालत बागलुङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २२ बालिका तथा महिला बलात्कृत भएका छन् । उमेर समूहका हिसाबले हेर्ने हो भने १५ वर्ष मुनिका ९ जना बालिका र १३ जना १८ देखि ६० वर्षसम्मका महिला रहेका छन् ।

गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्लाई हेर्दा १५ वटा घटना भएका छन् । जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीका अनुसार गत आर्थिक वर्षमा १८ वर्ष मुनिका नौँ बालिका र २० देखि ५० वर्षका १३ महिला बलात्कृत भएका थिए ।

किन बढे बलात्कारका घटना ?
जिल्लामा बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी भएको देखिँदैन । तर प्रहरी अनुसन्धानले अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग र हातहातमा मोबाइल र इन्टरनेटलाई प्रमुख कारणका रूपमा लिएको छ । मदिरा सेवन तथा अश्लील फिल्म लगायत सामग्री हेर्ने लत पनि अर्को कारक भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

उहाँले बालिकाहरु विभिन्न प्रलोभन, धाक धम्कीमा परि बलात्कृत हुने गरेको भन्दै यस प्रति अभिभावक जिम्मेवार र सचेत हुनु पर्ने बताउनुभयो । ‘बालिकाहरुको कलिलो मष्तिस्क हुन्छ, उनीहरु खास गरि विभिन्न प्रलोभन, धाकधम्कीमा परि बलात्कृत भएको पाइन्छ,’ प्रहरी नायव उपरिक्षक रानाले भन्नुभयो ‘आफ्ना बालबालिका प्रति अभिभावन पनि जिम्मेवार बन्नु पर्छ, उनीहरुको गतिविधिका बारेमा सजग हुन जरुरी छ ।’

अधिवक्त राम शर्माले बलात्कारका मुद्धाहरुमा कानुन कठोर बन्दै गएको र महिलाहरुले न्याय पाउन थालेपछि मुद्धाहरु बढि रहेको बताउनुभयो । उहाँले पहिले पनि समाजमा बलात्कारका घटनाहरु हुने तर त्यसलाई गाउँमै मिलाउने हुँदा मुद्धाको संख्या कम देखिएको बताउनुहुन्छ ।

‘बलात्कारका घटना पहिले हुँदै नभएका होइनन्, पहिलो पनि बलात्कारका घटना हुन्थे तर ति सबै गाउँमै मिलाइन्थ्यो, अहिले बलात्कारका मुद्धाहरुमा कानुन कठोर बन्दै गएका छन्, महिलाहरुले न्याय सहज रुपमा पाइन्छ भन्ने बुझौ,’ अधिवक्त शर्माले भन्नुभयो ‘अहिले केही मुद्धा मात्रै गाउँमा मिलाउने कोसिस गर्छन्, धेरै जसो अदालतमा आएको हुँदा बलात्कारका घटना बढेको पाइन्छ ।’

उहाँले पहिले महिलाहरु बलात्कृत भए पनि समाजका कारण दबिएर बस्ने गरेको तर अहिले मुद्धा हाल्ने र न्यायलयसम्म पुग्नु गर्न थालेपछि बलात्कारका घटनाको संख्या बढेको बताउनुभयो । शर्माले भन्नुहुन्छ–‘पहिले महिला पटक–पटक बलात्कृत हुँदा पनि समाजका कारण दबाएर बस्थे, अहिले उनीहरु सचेत भएका छन्, अदालत जानु पर्छ, न्याय पाउनु पर्छ भन्ने सोचको विकास भएको छ, त्यसले गर्दा पनि बलात्कारका मुद्धा बढी भएका हुन् ।’

जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले नागरिकको न्यायलय प्रति विश्वास बढ्दै गएको र उनीहरुको चेतनास्तर बढेको हुँदा बलात्कारका घटना बढी हुने गरेको बताउनुहुन्छ । भण्डारीले सामाजिक सञ्जालको बढ्दो प्रयोग र बेरोजगारका कारण यौनजन्य घटनाहरु हुने गरेको बताउनुभयो ।

महिलाहरु शिक्षित र आफ्नो हक अधिकार प्रति जागरुक हुँदा बलात्कारका घटनाहरु बढेको उहाँको भनाई छ । बलात्कारका घटना बढ्नुमा यस सम्बन्धी नयाँ कानुन निर्माण हुनु पनि भएको भण्डारीले बताउनुभयो ।

‘अहिले महिलाहरुमा चेतना वृद्धि भएको छ, त्यसले गर्दा पनि उनीहरुले दबावमा परेर अन्यायमा परेर बस्न सक्दैनन्, आफूमाथि अन्याय भएको महशुस भयो भने न्यायलय आइहाल्ने गरेको पाइन्छ’ उहाँले भन्नुभयो ‘अर्को कुरा न्यायलय गएपछि न्याय पाइन्छ भन्ने छ, त्यसले गर्दा पनि मुद्धाहरु बढेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *