बागलुङमा पनि मनाइयो धान दिवस

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पनि १९ औँ धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना, जिल्ला कृषि सहकारी संघ र मिरमिरले सहकारीको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना ओखलढुङ्गामा धान रोपी धान दिवस मनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले अब कृषकले आधुनिक कृषिलाई अवम्बन गर्नु पर्ने बताउनुभयो । मेयर श्रेष्ठले उन्नतजातका बिउ भिजन र आधुनिक औजारको प्रयोग गर्नु पर्ने भन्दै अब निर्वाहमुखी भन्दा पनि व्यवसायिक हिसाबले कृषि पेसालाई अंगाल्नु पर्नेमा जोड दिनुभयो । कृषिमा आधुनिकीकरण गर्न सके मात्रै आत्मनिर्भर बन्न सकिने उहाँको भनाई छ ।

उहाँले अहिले पनि परम्परागत रुपमा कृषि गरिँदै आएको भन्दै अब कृषक दक्ष हुनु पर्ने बताउनुभयो । कृषकलाई दक्ष बनाउनका लागि नगरपालिकाले तालिम लगायत अन्य कार्यक्रमहरु गर्ने बताउनुभयो । ‘अहिले पनि हाम्रो गाउँ घरमा कृषिमा आधुनिकता भित्रिएको छैन, उही परम्परागत हिसाबले कृषि कर्म गरि रहेको अवस्था छ, अब यलाई बदलले र नयाँ प्रबिधिको प्रयोग गर्न जरुरी छ,’ मेयर श्रेष्ठले भन्नुभयो ‘कृषकलाई दक्ष हामी बनाउँछौँ, तपाईहरुले इच्छा देखाउनु प¥यो, कृषिमा आधुनिकीकरण हुन सकेन भने हामी परनिर्भर भइनै राख्छौँ ।’

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कृषकले अब नयाँ–नयाँ प्रबिधिको प्रयोग गरेर उत्पादनलाई थप वृद्धि गर्नु पर्ने बताउनुभयो । उहाँले अहिले पनि पुरानै शैली अपनाएर कृषि गर्दा कृषकले धेरै प्रतिफल पाउन नसकेको भन्दै धेरै उत्पादन गर्नका लागि आधुनिक प्रबिधिको उच्चतम प्रयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले धान बाली र बागलुङ जिल्लामा यसको उत्पादनको बारेमा चर्चा गर्नु भएको थियो । बागलुङमा अघिल्लो वर्ष पाँच हजार ८०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा यस वर्ष समयमै वर्षात भएको कारण ६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भट्टराईले जानकारी गराउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता, कृषक गंगा थापाको स्वागत र कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत दिनेश पाठकको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *