बागलुङ बजारमा खानेपानीको हाहाकार : कहिले सकिएला लिफ्ट आयोजना ?


खेमराज गौतम, बागलुङ
बागलुङबासीले धारोमा पानी आउछ आउदैन, आकाश तर्फ फर्केर निक्यौल गर्छन् । वर्षातको समयमा बागलुङमा खानेपानीको चरम समस्या छ । वर्खाको समयमा धमिलोपानी आउनेभएपछि आकाशबाट पानी पर्दाको दिन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । पानी पर्ने दिन धारोमा पानी आउदैन ।

खानेपानी शुद्धिकरण गर्न नसकेपछि नगरखानेपानीले धमिलो दूषित पानी बजारमा पठाउदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलोपानी वितरण नगर्ने अदालतलेसमेत आदेश दिदै आएको छ । यसोत सामान्य अवस्थामा समेत नगरखानेपानीले उपभोक्ताको माग अनुसार खानेपानी आफूर्ती गर्न सकेको छैन । नगरका उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउनेगरी नगरखानेपानी लिफ्ट आयोजना निर्माणधीन अवस्थामा छ । आयोजना सकेर घरमा पानी पु¥याउने समयमा आयोजनाको काम कछुवा गतिमा भइरहेको छ । काठेखोलाको पानी शुद्धिकरण गरेर लिफ्ट मार्फत बागलुङ बजार ल्याउने गरी आयोजनाको काम बल्ल ८० प्रतिश पुरा भएको छ ।
नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले पानी पर्दा मुहानमा भल पस्ने समस्या रहेका कारण धमिलोपानी उपभोक्तकोमा नपुगोस भनेर पानी पर्दाको दिन खानेपानी वितरण नगरेको बताउनुभयो । “शर्माले सामान्य अवस्थामा पानी फिल्टर गरेर पठाउने गरेका छौं तर पानी पर्दा धमिलोपानी आउछ फिल्टरले धान्दैन” शर्माले भन्नुभयो “लिफ्ट आयोजना नबन्दा सम्म बागलुङ बजारमा खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न सकिदैन, अस्थायी रुपमा खानेपानी शुद्धिकरण गर्ने काम भइरहेकै छ, खानेपानी राम्रो आउदा समेत माग धान्नै समस्या हुँने अवस्थामा पानी नआउदा उपभोक्तालाई समस्या नै छ ।”

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताहरु खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । वर्खालागेपछि शुद्ध खानेपानीको खोजिमा मुलको पानी ल्याउन उपभोक्तले समय व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । शुद्ध खानेपानी वितरण नभएको भन्दै उपभोक्ताले बागलुङ नगरपालिका, जिल्ला प्रशासन तथा नगरखानेपानी संस्थालाई ध्यानआर्कषण गराउदै आएको उपभोक्ता डिल्लि गौतमले बताउनुभयो ।
बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण शुरु भएको चार वर्षमा ८० प्रतिशत प्रगती भएको छ । लिफ्ट आयोजना सम्पन्न भएपछि नगरवासीले खानेपानीमा राहत पाउने अवस्था भएपनि आयोजनाको काम कछुवा गतिमा भएको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । उक्त लिफ्ट खानेपानी आयोजना जिल्लाकै ठूलो लिफ्ट आयोजना हो ।
आयोजना पूरा नहुँने र रेश तथा लेखानीबाट ल्याइएको पानी नियमित नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ ।

दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना चार वर्ष बित्दासमेत ८० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङ नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना शुरु भएको हो ।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु.३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालिएको आयोजनाको काम चार वर्ष वित्दा समेत सम्पन्न हुन सकेको छैन । यही गतिमा आयोजना बढेमा काठेखोलाको पानी बजारमा ल्याउन अझै एक वर्ष लाग्ने निश्चित छ । खानेपानी आयोजना स्थलमा भौगोलिक रुपमा कमजोर हुनु, निरन्तर पहिरो जानु लगायतको कारण आयोजनाको लागत समेत बढेर गएको छ ।

७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजनाले अहिले सम्म ११ किमि पाईप लाईन विस्तार, सात लाख लिटरको दुई वटा मुख्य ट्याङ्की, प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अब आयोजनाको सहायक प्रशोधन केन्द्र र मोटर जडान तथा विद्युतीकरणको काम अझै बाँकी छ । खानेपानी संकलनका लागि आयाजनाले रातमाटामा एउटा पाँच लाख लिटर र अर्को दुई लाख लिटरको ट्याङ्की निर्माण गरिसकेको छ ।

काठेखोलाको पानी तान्ने पाँचवटा समवेयल, आयोजना स्थलमा खानेपानी संकलन ट्यांकी निर्माण दुई वर्ष अघिनै भइसकेको छ । कोरोना महामारी र पहिरो रोकथामकालागि थप पूर्वाधार निर्माण गर्दा आयोजनाको काममा ढिलाई भएको निर्माण व्यवसायीको भनाई छ । अहिले आयोजनाको म्याद सकिएको छ । आयोजनाले पुष सम्म म्याद थपेर आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसंख्या वृद्धि भएपछि खानेपानीको समस्या बढ्दै जाँदा काठेखोलाको पानी लिफ्टमार्फत तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ । आयोजना स्थलमा सुरक्षित ड्याम तथा पहिरो संरक्षणका लागि थप ६ करोड बढी लागत बढ्ने अनुमान गरिए अनुसार बजेट थप भएको छ भने अहिले ट्रान्सफर र मोटर समेत परिवर्तन गर्नका लागि पुन मुल्याङ्कनको काम भइरहेको छ ।

पुष सम्म खानेपानी बजारवासीलाई पु¥याउनेगरी काम भइरहेको निर्माणको जिम्मा पाएकोे कन्काई जयमाता जेभीका इञ्जिनियर विक्रम अधिकारीले बताउनुभयो । “भौगोलिक जटिलता र कोरोनाले ढिलाई भएको हो, अहिले धमाधम काम भइरहेको छ ८० प्रतिशत आर्थिक र भौतिक प्रगती भइसकेको छ” अधिकारीले भन्नुभयो “पहिरो रोकथामका लागि सम्झौता भन्दा बढी कामको समेत मुल्याङ्कन भइसकेको छ, अब पुषमा आयोजनाको काम सकिन कुनै समस्या देख्दिन ।” आयोजना स्थलमा पहिरो जाने, आयोजनाको स्वरुप परिर्वतन हुँदा झण्डै १० करोड लागत अनुमान थप हुँने देखिन्छ ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकोमा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय बागलुङ, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना अघि बढेको हो ।

खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो तर अदालतले गरेको परमादेशको समेत अवेज्ञा हुँदै आएको भन्दै अदालतको अवहेलनामा यही असारमा सोही अदालतमा मुद्दा परेको छ । धमिलो पानी आउँदा उपभोक्तालाई झाडापखाला जस्ता स्वास्थ्य समस्या देखिने भएकाले उमालेर खानेपानी पिउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । लिफ्ट आयोजना सम्पन्न भएपछि बागलुङ बजारमा मात्रै नभएर रमेटार, हाडेपाँखा र रात्माटाका घर–घरमा नयाँ धारा पु¥याइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *