बागलुङ बजारमा ड्रागन फ्रुटको व्यावसायीक खेती

खेमराज गौतम, बागलुङ

बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यवसायीक खेती बागलुङमा शुरु भइसकेको छ । एक वर्ष अघिमात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको थियो ।

त्यस लगत्तै गलकोटमा समेत व्यावसायिक ड्रागन फ्रुट खेतीको शुरु भइसकेको छ । यसैबीच बागलुङ बजार क्षेत्रमा समेत ड्रागन फ्रुटको व्यवसायीक खेतीको शुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यवसायिक खेती थाल्नुभएको छ ।

आचार्यले रामरेखा र माझी बस्ती गरी दुई स्थानमा ड्रागन फ्रुटखेतीको थालनी गर्नुभएको छ । पछिल्लो समय निकै राम्रो मुल्य र बजार माग भएको फलफूल ड्रागन फ्रुटको विस्तारै बागलुङमा समेत व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको हो ।

आचार्यले २०७८ चैतमा रामरेखा स्थित आफ्नै दुईरोपनी जग्गामा ड्रागन फ्रुट खेती थाल्नुभएको थियो । उहाँले ड्रागन फ्रुटका विरुवा राम्ररी हुर्कन थालेपछि पुन रामरेखाकै माझीबस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गर्नुभएको छ । हाल उहाँको दुई स्थानमा दुई हजार १०० ड्रागन फ्रुटका विरुवा रहेका छन् ।

ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्व मन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको संभावना देखेर ड्रागन फ्रुटको खेती विस्तार गरेको रामरेखा निवासी विमलेश आचार्यले जानकारी दिनुभयो ।

“पूर्व मन्त्री लोकेन्द्र विष्ट लगायत सफल ड्रागन व्यवसायीहरुको प्रेरणाबाट मैले ड्रागन फ्रुट खेती गर्ने निधो गरे, जस्का लागि आफ्नै ६ रोपनी जग्गामा ड्रागन फ्रुटका विरुवा लगाउने निधो गरे” आचार्यले भन्नुभयो “मैले दुई हजार १०० ड्रागन फ्रुटका विरुवा लगाएको छु, सबै बिरुवा मोरङबाट ल्याएको हु, यो ड्रागन फ्रुट सि भेराइटी मध्येको रातो जातको हो ।”

निर्माण व्यवसायी समेत रहनुभएका आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि रु. ५० लाख लगानी गरिसक्नुभएको छ । उहाँले प्रति विरुवा रु. ४०० मा खरिद गरेको बताउनुभयो । ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर समेत अनिवार्य हुन्छ । उहाँले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० विरुवा लगाउनुभएको छ । उहाँले जग्गा व्यवस्थापन, तारबार, टायर, विरुवा र पोल लगायतका लागि रु. ५० लाख भन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उहाँको भनाई छ । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यस तर्फ लगानी बढाएको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यवसायिक खेतीमा शुरुमा धेरै लगानी गरेपनि पछि राम्रो कमाई हुँने गरेको छ । बागलुङमा व्यवसायिक ड्रागन फ्रुटको व्यवसायीक उत्पादन भने भइसकेको छैन । आचार्यले ड्रागन फ्रुट रोपेको एक वर्ष देखि १८ महिना भित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने उहाँको भनाई छ । उहाँले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस समेत प्रयोग गर्न सकिने बताउनुभयो । “रातो ड्रागन फ्रुटको मुल्य अहिलेपनि बजारमा ८०० देखि एक हजार प्रति केजी छ, नेपालमा यसको उत्पादन बढ्दै गएपछि मुल्य केही घट्ला तर यसको बहुउपयोगिताका कारण बजारको माग धान्नै समस्या हुँने देखिन्छ” उहाँले भन्नुभयो “१४ भन्दा बढी फलफूलमा फाइने पोषण तत्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यवसायिक उत्पादन भइसक्नेछ ।”

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण शुरुवाती लगानी नै धेरै भएको अनुभव सुनाउनुभयो । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।

ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । यस फलको जातहरुमा रातो बोक्रा, पहेलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ ।

यो फल मीठो मात्र नभएर औषधीय गुण समेत भएकाले यसको माग बजारमा उच्च रहेको छ । यसले कब्जियतलाई समेत निकोपार्ने अध्ययनले देखाएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन समेत सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *