आदर्श अनलाइन, बागलुङ
यातयात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वस्थ्य परिक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको छ ।
शंकर पोलिक्लिनिकमा सेवाग्राही चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएकोले उक्त कार्यमा सम्लग्न धादिङ जिल्ला धादिङबेशी नगरपालिका–५ बस्ने बर्ष २७ का राम अर्याल र जिल्ला नवलपरासी पूर्व (नवलपुर) कावासोती नपा–९ बस्ने बर्ष २१ का गणेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
पोलिक्लिनिकको अवलोकन गर्दा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याड समेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसूरमा नियन्त्रणमा लिई सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।