आन्तरिक पर्यटकको रोजाइमा बागलुङ, रोल्पा र रुकुमको सिमाना

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय बागलुङ, रोल्पा र रुकुमको सिनामा निकै चर्चामा छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ मा पर्ने पातिहाल्ने आधा दशक अगाडीसम्म गुमनाम थियो । जब मध्यपहाडी लोकमार्गले पातिहाल्ने जोडियो । तब यसको चर्चा हुन थाल्यो ।

वर्षातको समयमा गोठालेहरुले भेँडाबाख्रा र वस्तुभाउ चरनको रुपमा प्रयोग गर्थे । हिँदको समयमा हिँउले ढाकिने यस क्षेत्र सुनासननै हुन्थ्यो । तर अहिले विस्तारै बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ ।

वर्षातको समयमा होस या हिउँदको, दुबै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु घुम्न आउने गर्छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यहरुले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्रे भएपछि बढी चर्चामा आएको पाइन्छ । त्यसभन्दा अगाडी यसको त्यत्ति चर्चा थिएन । यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् ।

पातीहाल्नेमा हरेक दिन मान्छेहरुको आवतजावत बाक्लिँदै गएको छ । यहाँ बस्ती समेत विकास भइरहेको छ । पातिहाल्नेसँग जोडिएको रिगतालमा पनि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । पातिहाल्ने पुग्ने मान्छे अधिकांश रिगताल पुग्ने गर्दछन् । ३२ सय मिटर उचाइमा रहेको यस तालसम्म पुग्ने सडक निर्माण समेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाई दिएको छ । सिमानबाट गाडीमा ५ मिनेट र मैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ ।

रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याउने गरेको छ । त्यसले गर्दा पनि मानिसहरुको भिड लाग्ने गर्छ । यहाँ खास गरि बिदाको दिन बढी आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् । ताल र पातीहाल्ने क्षेत्र निसीखोलाको चिनारीका रुपमा लिइन थालिएको छ । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्याधिक भिडभाड हुन्छ । अन्य समयमा भने सानो संख्यामा पर्यटकहरु घुमघाम गर्न आउँछन् ।

५/७ वर्ष अघिसम्म गाउँका भेडी गोठालेहरुले पानी खाने ताल र घना जंगलले ढाकिएको पातीहाल्नेमा अहिले सडकले गर्दा बस्ती बिस्तार हुन थालेको स्थानीय मनबहादुर घर्ती मगर बताउँछन् । ‘अहिले जुन ताल छ, त्यो पहिलो भेडीगोठालाहरुले पानी खाने ठाउँ हो, अझै पनि यहाँबाट गोठालेहरुले पानी भरेर उपयोग गर्ने गर्छन्, तर पहिलेको जस्तो रहेन, अहिले त थप व्यवस्थित भएको छ, गाउँपालिकाले पनि संरक्षण गर्न थालेको छ, पर्यटकहरु आउन थालेका छन्, निकै प्रचार पो भयो,’ उनले भने ‘पातीहाल्ने र रिग ताल सडकले गर्दा यति धेरै चर्चामा आएको छ, पहिले त त्यस्तो केही थिएन, जो कोही पुगेका पनि थिएनन् ।’

रिग तालको नाम खास गरि मगर खाम भाषबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वत लगायतका ठाउँहरुको देख्न सकिन्छ भने माछापुछ«े, अन्नपूर्ण, धौलागिरी लगायतका दर्जनौँ हिमश्रृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । हरेक वर्ष यस क्षेत्रमा हजारौँ आन्तरिक पर्यटकहरु आउने स्थानीय बताउँछन् ।

गुल्मीबाट सिमाना घुम्न गएकार महेश पौडेलले यो ठाउँ अत्यन्तै सुन्दर भएको भन्दै यहाँ पटक–पटक आउने गरेको बताए । उनले बिदाको दिन प्रायः साथीहरुसँग पातीहाल्ने र रिग ताल घुम्न जाने गरेको बताए । सडक राम्रो भएको हुँदा बुर्तिबाङबाट एक घण्टामै पुग्न सकिने भन्दै अहिले धेरै जसो मान्छेहरु बिदाको दिन यहाँ आउने गरेको उनको भनाई छ ।

‘म अहिलेसम्म ६÷७ पटक पुगेँ, तर यहाँ पुगेर फर्किएपछि फेरि जाउँ–जाउँ हुन्छ, समय मिलेसम्म साथीहरुसँग जाने गरेको छु’ उनले भने ‘अहिले त बिदा भयो कि पातीहाल्ने जाने त ट्रेन्डनै भयो, धेरै जसो मान्छेहरु फेम्ली र साथीहरुसँग जाने गर्छन्, अहिले त्यो ठाउँ निकै चर्चित भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *