गलकोटमा फोहोर व्यवस्थापना सहजता थपिँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिकामा विकासले मुहार फेरिँदै गएको छ । विकासले मुहार फेरिए पनि नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिनु पर्ने देखिएको छ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ भने हटियामा पनि घर भवनहरु थपि रहेका छन् ।

उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेतहरु विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसंगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहोर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो । तर, पछिल्लो समय नगरपालिकाले वडा नम्बर ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाँडामा लिएरै फोहोर व्यवस्थापनमा जुटेको छ ।

यस अघि हटिया बजारको फोहोर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहोर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थिए । नगरपालिकाले जग्गा अभावमा फोहोरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहोर प्रशोधन केन्द्र स्थापना गरेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरि फोहोर प्रशोधन उपकरण जडान समेत गरि सकिएको भन्दै ३÷४ महिनादेखि उक्त स्थानमा फोहोर व्यवस्थापन हुन थालेको गैरेको भनाई छ । उहाँले फोहोरलाई कुहिने र नकुहिने गरि छुट्याएर प्रत्येक दिन छुट्टाछुट्टै संकलन गरिँदै आएको बताउनुभयो ।

‘फोहोर फाल्ने डम्पिङ साइड पाएनौं, त्यसैले केही उपकरण खरिद गरेर फोहोर प्रशोधन गरि विक्री गर्ने नगरपालिकाको नीति अनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसंगै उपकरण जडान भएको छ’ नगर प्रमुख शर्मा गैरेले भन्नुभयो ‘सुरुवाति चरणमा छौँ नकुहिनेलाई प्रशोधनगर्ने र कुहिनेलाई कम्पोस्ट मल बनाउने गरि कामको थालनी गरेका छौँ ।’

नगरपालिकाले चार रोपनी जग्गामा सडक पु¥याउने, विद्युतीयकरण गर्ने ट्रस्ट हाल्ने लगायतका पूर्वाधार निर्माणमा २३ लाख रुपैयाँ र उपकरण खरिद र जडानमा १० लाख खर्च गरिसकेको उहाँको भनाई छ। अहिले नगरपालिकाले एउटा ट्याक्टरमा फोहोर संकलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिदै गए पछि फोहोर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गरिने छ । कुहिने फोहोरको मल बनाइनेछ भने नकुहिने फोहोरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि बिक्री गरिनेछ । नगरपालिकाले फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहोर प्रशोधन पछि बिक्री गरेर उठाउने लक्ष्य राखेको छ ।

नगरपालिकामा सार्विजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महङ्गो भएपछि भाँडाको जग्गामा फोहोर व्यवस्थापन गर्न थालिएको हो । फोहोरलाई मोहोर बनाएर विक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पुरा हुन थालेको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *