गाउँनै पहिरोको जोखिममा, रित्तिए बस्ती


डम्मर बुढा मगर, बागलुङ
बाढी पहिरो जस्ता प्राकृतिक विपदका कारण बागलङका थुप्रै बस्तीहरु रित्तिदै गएका छन् । त्यस मध्य जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोट पनि अहिले सुनसान छ । केही वर्ष अगाडीसम्म निकै चहलपहल टुनिबोट गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । दुई वर्ष अगाडिसम्म ४६ घर रहेको टुनीबोटमा हाल ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् ।

वि.सं. २०७७ सालमा आएको पहिरोले २ जनाको मृत्यु र ८ घर पुरिएका थिए । त्यसपछि गाउँ जोखिममा परेको भन्दै स्थानीयहरुले बस्तीनै छोड्न थालेका छन् । अहिले त्यस गाउँमा १५ घर परिवार मात्रै बसोबास गर्दछन् । पहिरोले त्रासका बीच पनि आफूहरु गाउँमै बस्न बाध्य रहेको स्थानीय राजु पौडेल बताउनुभयो । ठूलो धनजनको क्षति पु¥याएपछि स्थानीय आफ्नो जायजेथा छोडेर बसाइँसराइ गर्न बाध्य भएको उहाँको भनाई छ ।

‘पहिलो गाउँमा धेरै घरहरु थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, दुई वर्ष अगाडि पहिरो आएपछि दुई जनाको मृत्यु भयो, धेरैको धन सम्पत्तिको नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ,’ पौडेलले भन्नुभयो ‘गाउँमा कोही जागिरे, होकी व्यवसायीहरु थिए, उनीहरु सबै छोडेर बसाइँसराइ गरेर अन्तै जान बाध्य भए, अहिले गाउँमा बसाइँसराइ गरेर जान नसक्ने परिवार मात्रै छन्, उनीहरु पनि जोखिम मोलेर गाउँमा बस्न बाध्य छन् ।’

बस्तीमाथीबाट बिना इन्जिनियरिङ खनिएको सडकका कारण बस्तीनै पहिरोको उच्च जोखिममा परेको स्थानीयको भनाई छ । सडक निर्माण गर्दा प्राबिधिक जाँच पास गरेर निर्मा गरेको भए बस्ती जोखिममा नपर्ने उनीहरुको भनाई छ । गाउँमा अहिले गरिबहरु मात्रै रहेका छन् ।

टुनिबोट लगायत बागलुङका विभिन्न ठाउँहरुबाट बिस्थापित हुने र बसाई सरि पोखरा, काठमाण्डौ, चितवन जानेहरुको संख्या ठूलो छ । खास गरि बाढि पहिरोको जोखिमसँगै नयाँ अवसरको खोजी गर्दै पुख्र्यौली बस्ती छोड्नेहरुको संख्या ठूलो छ ।

पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, व्यवसायको राम्रो अवसर नहुँदा पनि मानिसहरुले गाउँ छोड्न बाध्य भइरहेको अवस्थामा गाउँनै जोखिममा परे पछि बसाइँसराइ गर्न स्वभाविकनै हो । जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुनले जोखिममा रहेको बस्ती संरक्षण गरि बसाइँसराइ हुन बाट स्थानीयलाई रोक्न प्रयास थाल्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय बसाइँसराइ जटिल विषय भएको भन्दै यसको रोकथामको लागि छलफल भइरहेको बताउनुहुन्छ । अन्यत्र भन्दा राम्रो अवसरको सृजना गर्न सके मात्र बसाइँसराइ रोकिने पुनको भनाई छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्ति समेत बाहिरिने हुँदा बसाइँसराइ रोक्नु पर्ने स्थानीयको माग छ । बसाइँसराइले गाउँका पुरा संस्कार संस्कृति समेत धरापमा पर्ने अवस्थामा पुगेका छन् । प्राकृतिक विपत्तिबाट समस्यामा परेका नागरिकको पुनःस्थपना गर्न सके गाउँ छोडर बसाइँसराइ गर्नु पर्ने अवस्था नआउने स्थानीय बताउँछन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *