बागलुङमा विपद् व्यवस्थापन : यस्तो छ पूर्व तयारी


खेमराज गौतम, बागलुङ

वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाई सकेका छन् । बागलुङमा चट्याङबाट वर्षेनी ठूलो जन धनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुँन आवश्यक छ ।

जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहदा विपद् व्यवस्थापन कार्यको तयारी थालिएको छ ।

भनिन्छ–‘विपति बाजा बजाएर आउदैन ।’ त्यसैले हरेक वर्षायामसँगै अपुरणिय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयम् आम नागरिकले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण समेत गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्युनिकरण गर्न सकिन्छ ।

त्यसैले मनसुनको समयमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको पूर्व तयारी गर्ने गरेको पाइन्छ । जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशिलताको आधारमा बर्गिकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपत या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा भएको खण्डमा विपद् जन्य घटनामा केही भएपनि कम हुँनेछन् ।

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् न्यूनिकरणका लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।

“विपद् व्यवस्थापनको तयारी जुनक सुकै समयमा गरिन्छ तर वर्षातको समयमा अली बढी सचेत हुँनै आवश्यक छ, हामीले सबै पालिकामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौ, विपद्का लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नै तयारी गरिरहेका छन्” सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो “विपद् जन्य घटनाबाट कम क्षति हुँनलाई पूर्व तयारी अवाश्यक छ, स्थानीय तहमा भएका औजार, उपकरण, दमकल तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न भनिएको छ, जहाँ विपद्को घट्ना हुन्छ त्यही पालिकामा भएको संरचना परिचालन हुन्छ, आवश्यक परे जिल्ला स्तरीय विपद् व्यवस्थापन समिति परिचालन हुन्छ ।”

बिपद्का घटना न्यूनिकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिम समेत बनाइएको छ । बागलुङ जिल्ला प्रशासनले लाइफ लाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालिगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकल लगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिका भित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउदै उद्दारमा कुनै समस्या नहुनेगरी आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।

विपद् हुँन नदिनका लागि सचेत रहने, भइहालेमा क्षति न्यूनिकरण गर्नका लागि तत्कालै सूचना प्रभाव गर्ने र जोखिमपूर्ण स्थानमा बढी तयारी गर्ने गरिएको छ । तर चट्याङबाट बच्न नागरिक स्वयं सचेत हुँन आवश्यक छ । चट्याङ पर्दा चिसो स्थानमा नबस्ने र सकेसम्म घर बाहिर ननिस्कने गर्नुपर्दछ ।

जिल्लाको ढोरपाटन, निसीखोला, जैमिनी गलकोट लगायत जिल्लाका २७ वडा पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको अध्ययनले देखाएको छ । तर विपद् जुनसुकै स्थान र कम संभावना भएको स्थानमा झनै ठूलो घटना घट्न सक्ने भएकाले सबै विपद् जन्य निकायहरुलाई तयारी अवस्थामा राखिएको हो ।

विपद् व्यवस्थापनका लागि जिल्लामा विपद् गुल्ममा १२५ जना तालिम प्राप्त प्रहरी तयारी अवस्थामा राखिएको, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको संयोजनमा २५ जना प्रहरी तयारी अवस्थामा राखिएको र जिल्लाका सबै इलाका प्रहरी कार्यालयमा सानो समूहमा विपद्का लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

“प्रहरी तयारी अवस्थामा छ मनसुनको समयमा प्रहरीले आवश्यक उपकरण सहित राखिएको छ, प्रहरी मात्रै हैन अन्य सुरक्षा निकाय सेना तथा सशस्त्र प्रहरीले विपद्को आफ्नै तयारी गर्ने गरेका छन्” प्रहरी प्रमुख ज्ञवालीले भन्नुभयो “आगलागी, पहिरो तथा अन्य आकश्मिक विपद्को समयमा कसरी काम गर्ने भन्ने विषयमा प्रहरीलाई समय–समयमा तालिम समेत दिइएको छ, विपद्को समयमा सबै सुरक्षा निकाय र स्थानीय सरकार मिलेर काम गर्ने योजना छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *