गलकोटमा फष्टाउदै व्यावसायिक कागती खेती


आदर्श अनलाइन, बागलुङ

६ वर्ष अघि सम्म बागलुङको गलकोटमा व्यावासायीक कागती खेती शुरु भएको थिएन । गलकोटको बजारमा अहिले पनि भारतीय र तराइका जिल्लाबाट कागती आयात हुँने गरेको छ ।

गलकोटमा बाहिरबाट कागती आयात भएको देखेपछि गलकोट नगरपालिका–९ छिसका मित्र खरेललाई कागती खेतीप्रति उत्सुकता जाग्यो । कागती खेती आयत प्रतिस्थापन गर्न सकिने उदेश्यले ६ वर्ष अघि आफ्नै जग्गामा परिक्षणका लागि खरेलले सय बोट कागतीका विरुवा रोप्नुभयो । कागती रोपेपछि खरेलले कागती खेतीको संभावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन अवलोकन समेत गर्न भ्याउनुभयो ।

खरेलले लगाएका सय बोट मध्ये ८० बोट कागतीले तीन वर्षमै उत्पादन दिन शुरु ग¥यो । कागती खेतीको परिक्षण सफल भएपछि खरेलको अहिले १० रोपनी जग्गामा ५०० कागतीका विरुवा छन् ।

“गलकोटमा भारतबाट कागती आएको देखे, कागती खेती शुरुमै धेरै विरुवा लगाउन सकिन किनभने परिक्षणकाल थियो, विस्तारै कागती खेतीको विषयमा बुझ्दै गए, विरुवा फष्टाउदै गयो” खरेलले भन्नुभयो “अहिले तीन वर्ष भयो ८० बोटले उत्पादन दिन थालेको भने नयाँ विरुवा थपेर ५०० बोट पु¥याएको छु, पहिलो वर्ष असिनाले खासै उत्पादन भएन, गत वर्ष ४०० केजी कागती पहिलो पटक विक्रि गरेको थिए, अहिले राम्रै फल लागि रहेको छ, ५०० बोटलेनै उत्पादन दिन तीन वर्ष अझै लाग्ला ।” खरेलका अनुसार ५०० बोटले कागती उत्पादन गर्न थालेपछि वार्षिक दूई देखि तीन लाख सम्मको कागती विक्रि गर्ने लक्ष्य छ ।

खरेलले सानो क्षेत्रबाट कागती खेती थालेपनि अहिले गलकोटका एक दर्जन किसानले व्यवसायीक कागती खेती थाल्नुभएको छ । केही वर्षमा गलकोटले कागती निर्यात गर्ने तयारीका साथ धमाधम व्यावसायीक कागती खेति थालिएको छ ।

गलकोट नगरपालिका–११ रिघाका युवा दानबहादुर श्रीषले गलकोट क्षेत्रकै सबैभन्दा धेरै मात्रमा कागती खेती गर्नुभएको छ । २०७६ सालमा बाँझो जमिन खरिद गरेर एक हजार ५०० कागतीका विरुवा लगाउनुभएका श्रीषको फर्ममा अहिले कागतीले फुल खेल्न थालेको छ ।

कागतीको संभावना अध्ययन पश्चात ३६ रोपनी जग्गामा तीन वर्ष अघि कागती खेती थाल्नुभएका श्रीषले कागतीका विरुवा फष्टाउदै गएपछि दंग पर्नुभएको छ । उहाँले आफ्नो कागती फर्ममा आगमी वर्ष व्यावसायिक रुपमा कागती उत्पादन बताउनुभयो ।

“झाँडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका विरुवा तीन वर्ष अघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कदैछन्, अहिले सामान्य फल लाग्ने अवस्था छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुँनेमा विश्वस्त छु” श्रषिले भन्नुभयो “सबै विरुवाले पूर्ण रुपमा उत्पादन दिन थालेमा गलकोटको बजारको कागतीको माग धान्न सक्ने योजना हो ।”

तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर युवाले २०७४ सालमा श्रीष कृषि तथा पशु फार्म दर्ता गर्नुभएको छ ।

गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ ।

कागती खेतिको प्रोत्साहनका लागि गलकोट नगरपालिका समेत सक्रिय देखिन्छ । गलकोट नगरपालिकाले शुरुवाती चरणमा कागतीका विरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराएको, सिचाईको लागि व्यवस्थापन गरेको र प्राविधिक सल्लाह सुझाव दिदै आएको गलकोट नगरपालिका कृषि शाखा प्रमुख हरीदत्त सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार गलकोट नगरपालिकाले एक सय वोट कागती लगाउने किसानहरुको अभिलेख राख्ने गरेको छ ।

गलकोट नगरपालिका भर २०० भन्दा बढी कागतीका विरुवा लगाउनेको संख्या पाँच जना, १०० भन्दा माथी विरुवा लगाउनेको संख्या पाँच र ५० विरुवा लागाउने किसानको संख्या १० जना गरी व्यवसायीक कागती खेती थाल्ने किसानको संख्या २० पुगेको छ ।

“गलकोटमा पछिल्लो समय व्यावसायिक कागती खेती फष्टाउदै आएको छ, किसानहरु कागती खेति प्रति आकर्षति भएका छन्” कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो “पालिकाले सक्दो सहयोग गरेको छ, नगरपालिकाले तरकारीमा नै गलकोटलाई आत्मनिर्भर गराउने लक्ष्य लिएको छ, कागतीमा केही वर्षमै आत्मनिर्भर हुँनेछ ।” गलकोट नगरपालिका क्षेत्रमा कागती खेतीको राम्रो संभावना रहेको छ ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना देखिन्छ ।

कागती स्वास्थ्यका लागि समेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातीत गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कागती खेतिमा लागेका कृषकहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *