कालिका मन्दिरको पार्कीङ शुल्क मानव सेवा आश्रमलाई


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिरमा परिसरको पार्कीङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ ।

कालिका मन्दिरको परिसरमा रहेको पार्कीङबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङ्गलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवहरूको व्यवस्थापनका लागि प्रयोग गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष कुमार खड्का र मानव सेवा आश्रमका तर्फबाट संस्थाका बागलुङ जिल्ला संयोजक बिपना तामाङ्ले हस्ताक्षर गरेका छन् ।

कालिका मन्दिरको पार्कीङ जग्गामा मानवसेवा आश्रमले सम्पूर्ण व्यवस्थापकीय कर्तब्य पुरा गरी संकलन भएको रकम आश्रमलाई हुँने सहमती भएको हो ।

कालिका मन्दिरको मानवीय सेवा अन्र्तगत पार्कीङ व्यवस्थापन बापत उठेको रकम आश्रमलाई दिइने भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । “न्यूनतम मुल्यमा सवारी पार्कीङ गर्न मन्दिर परिसरमा पाइन्छ, आश्रमलाई सहयोग भनेपनि इच्छाले बढी दिन समेत पाइयो” अध्यक्ष खड्काले भन्नुभयो “आश्रमलेनै एक जना शुल्क उठाउने मानिस खटाउछ, पार्कीङ व्यवस्थापन पनि हुने र सहयोग पनी हुने भएकाले आश्रमसंग सम्झौता गरिएको छ ।” खड्काका अनुसार अगमी पाँच वर्ष भित्र मन्दिरले मानवीय सेवाका लागि एम्बुलेन्स, शव बाहन र दमकल समेत सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

समितिल पार्कीङ शुल्क समेत निर्धारण गरेको छ । दुई पांग्रे सवारी साधनको लागि रु. ५, माइक्रो, कार, जिप, भ्यानको लागि रु. १० र बसको लागि रु. २० निर्धारण भएको छ ।

मानवसेवा आश्रम बागलुङ शाखा २०७३ सालमा स्थापना भएपनि आश्रमको आफैनै भवन निर्माणधीन अवस्थामा छ । आश्रमको भवन निर्माणका लागि समेत विभिन्न सहयोग संकलन अभियान चलाइएको छ ।

मानवसेवा आश्रम बागलुङ शाखामा हाल ५० जना सहयोगापेक्षी बेसहारा तथा सडकमानव आश्रीत रहेको शाखाका अध्यक्ष शिव खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *