ताराखोलाले शहिद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता दिने


आदर्श अनलाइन, बागलुङ

१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहिद, वेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहिद, वेपत्ताका परिवार, घाइेत तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ ।

पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगमी महिनादेखि शहिद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना शहिद र दुई जना वेपत्ता भएका थिए भने बिद्रोही माओवादीको तर्फबाट चार जना शहिद गरी २७ जनालाई मासिक एक हजार ५००का दरले भत्ता दिने निर्णय गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले जानकारी दिनुभयो । “शहिद तथा वेपत्ता परिवारलाई भत्ता दिनका लागि आवश्यक बजेट गाउँसभामार्फत छुट्टाएका थियौ, अहिले नीति बनाएर लागू ग¥यौ, शहिद र वेपत्ता परिवारलाई राज्यले सूचिकृत गरेकाले तत्कालै भत्ता दिन शुरु गछौं” गाउँपालिका अध्यक्ष बिकले भन्नुभयो “घाइते तथा अपाङ्गताको हकमा घाइते तथा अपाङ्गता भएको परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि घाइतेको प्रकृतिको आधारमा पाँचसय देखि एक हजार भत्ता दिने भएका छौं ।”

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् । ताराखोला गाउँपालिकाका शहिद बेपत्ता तथा घाइतेको योगदानले स्थापित एक स्थानीय तह भएकाले थोरै भएपनि उहाहरुको योगदानलाइ सम्बोधन गर्न खोजिएको गाउँपालिका अध्यक्ष बिकले बताउनुभयो ।

यस्तै पालिकाले बिद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ । त्यस्तै पालिकाले करार शिक्षक, बालविका सहजकर्ता र बिद्यालय कर्मचारी पारिश्रमिक सम्बन्धी कार्यविधी २०७९ समेत स्विकृत गरेको छ । कार्यबिधिमा बिद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई एक हजार र विद्यालय लेखापाललाई रु. तीन हजारका दरले वृद्धि गर्ने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *