झन् पेचिलो बन्दै सीमा विवाद : विवादित क्षेत्रमा विकास निर्माण नगर्न भन्दै पत्रचार


डम्मर बुढा मगर, बागलुङ
बागलुङ र पूर्वी रुकुमको सीमा विवाद थप चर्किदै गएको छ । पाँच वर्ष अगाडिदेखि सुरु भएको सीमा विवाद थप चर्किदै गएको छ । वि.सं. २०७४ साल पूर्वी रुकुमको भूमे गाउँपालिकाले सीमा मिचेर बागलुङको निसीखोला गाउँपालिकामा पर्ने पातिहाल्नेमा आएपछि प्रवेशद्वारा निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

विवाद टुङ्याउन वि.सं. २०७७ चैतमा दुवै पालिकाका अध्यक्ष, वडा अध्यक्ष लगायत ६ जनाको कार्यदल गठन भएको थियो । कार्यदलले सिमानामा पिल्लर गाड्ने गरि सहमति गरेको थियो । तर सिमानामा पिल्लर गाड्न भूमि गाउँपालिकाबाट कोही पनि उपस्थित नभएपछि विवाद कायमै रहेको थियो ।

भूमे गाउँपालिकाले पुनः बागलुङमा पर्ने रिगा तालसम्म जोड्न सडक निर्माण गर्न थालेपछि विवाद थप बढेको हो । भूमे गाउँपालिका वडा नम्बर एकले आफू खुसी अर्काको भू–भागमा आएर पूर्वाधार निर्माण गरेको भन्दै निसीखोला गाउँपालिका वडा नम्बर ६ ले उक्त निर्माण कार्य तत्काल रोक्न पत्र पठाएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हेमबहादुर बुढा मगरले भूमे गाउँपालिका र वडा नम्बर १ लाई पत्रचार गरि पूर्वाधार निर्माण तत्काल रोक्न भनेका छन् । अध्यक्ष बुढा मगरले भूमे गाउँपालिकाले कार्यदलले सहमति गरेको निर्णयलाई नमानेपछि विवाद बढ्न थालेको बताउँछन् ।
‘विवाद समाधान गर्न दुई वर्ष अगाडिनै कार्यदल गठन भएको थियो, कार्यदले सिमानामा पिल्लार गाड्ने निर्णय गरेको थियो, पिल्लर गाड्ने समयमा भूमे गाउँपालिकाबाट कोही पनि उपस्थित हुनु भएन,’ अध्यक्ष बुढा मगरले भने ‘उहाँहरुले अहिले पनि हाम्रो क्षेत्रमा पर्ने रिग तालसम्म जोड्ने सडक निर्माण गर राख्नु भएको छ, त्यसलाई रोक्न मैले गाउँपालिका र वडा कार्यालयलाई पत्र पठाएको हुँ ।’

यसभन्दा अगाडि भूमे गाउँपालिकाबाट समेत पातिहाल्ने क्षेत्रमा विकास निर्माण नगर्न निसीखोलालाई पत्र आएको थियो । पातिहाल्ने दुई जिल्लाको मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशको सीमा क्षेत्र पनि हो । मध्यपहाडी लोकमार्गमा पर्ने सीमा क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै मनमोहक रहेको छ । रिग ताल र त्यस वरपरको क्षेत्रलाई रुकुम पूर्वले आफ्नो कब्जामा लिन खोजि रहेको निसीखोलाका स्थानीयको भनाई छ ।

विवाद समाधान गर्न दुई जिल्लाका सांसद, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रबिधिकहरु बिचि पटक–पटक छलफल भएको थियो तर निष्कर्ष भने निस्किएको थिएन । नापी कार्यालयका प्राबिधिकले नक्सा हेर्दा भूमे गाउँपालिकाले दाबी गर्दै आएको क्षेत्र बागलुङमा पर्ने बताए पनि अध्यक्षहरुले नमानेको निसीखोलाका जनप्रतिनिधि बताउँछन् ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले विवाद समाधान गर्न धेरै कोसिस गर्दा पनि अर्को पक्षले नमानेको बताए । उनले दुई वर्ष अगाडिनै आफू कार्यदलमा बसेर विवाद मिलाउने प्रयास गरे पनि निचोडमा पुग्न नसकिएको बताए ।

अध्यक्ष घर्ती मगरले विवाद टुङ्याउनका लागि अब केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताउँछन् । समयमा विवाद समाधान नभए ठूलो दुर्घटना समेत निम्तिन सक्ने स्थानीयको भनाई छ । स्थानीयले समेत सीमा विवाद टुङ्याउन आग्रह गरि रहेका छन् । सीमा विवाद भएको क्षेत्र चरन क्षेत्र र पर्यटकीय क्षेत्र हो ।

भूमे गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष मनकाजी पुन मगरले केन्द्र नापी विभिगले जारी गरेको आधिकारी नक्सा हर्ने र सोही आधारमा विवाद टुङ्याउने बताए । उनले यस अगाडि गुगल नक्सा मार्फत विवाद मिलाउने कोसिस भएको भन्दै त्यो नसक्सा आधिकारीक नहुने दाबी गर्छन् ।
अहिले निर्माण भइ रहेको सडक आफ्नै क्षेत्रमा भएको अध्यक्ष पुन मगरको दाबी छ । उक्त सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालिएको उनको भनाई छ । सो सडक मध्यपहाडी लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने अध्यक्ष पुनले जानकारी दिए ।

‘अहिले हामीले निर्माण गर्न थालिएको सडक हाम्रै भू–भागमा पर्छ, यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालेका हौँ, लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने गरि सडक निर्माण भएको छ,’ अध्यक्ष पुनले भने ‘नापी विभागको आधिकारीक नक्सा लिएर हेर्ने त्यसपछि हामीले दाबी गरेको क्षेत्र जता परे पनि हामी मान्न तयार हुन्छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *