कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी

आदर्श अनलाइन, बागलुङ

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर बढी केदी बन्दी बस्न बाध्य भएका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी बन्दीलाई समस्या भएको छ ।

कारागारमा पुरुष तर्फ ५० र महिला तर्फ २० क्षमता गरि ७० जनाको क्षमता रहेकोमा १७६ कैदीबन्दी बस्न बाध्य छन् । कारागारमा हाल पुरुष तर्फ एक सय ६६ र महिला तर्फ १० जना गरि एक सय ७६ जना कैदिबन्दि रहेका छन् जसमा एक जना ६४ वर्ष उमेर माथिका छन् ।

महिला कैदी बन्दीसंग हाल तीन जना नाबालकसमेत कारागारमा रहेका छन् । कारागारमा हाल ८१ कैदी र ९५ जना थुनुवा रहेका छन् । कैदी तर्फ ७७ पुरुष र तीन महिला रहेका छन् भने थुनुवा तर्फ ८७ पुरुष र सात महिला रहेका छन् । कारागारमा ठाउँको अभाव हुँदा महिला भन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नु पर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न, हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यत रहेको जिल्ला कारागार बागलुङ कार्यालयका प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“कैदी बन्दीहरु क्षमता भन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीहरुलाई सुत्न, चर्पी जान, लगायतका कार्यहरुमा निकै अप्ठारो भएको छ” कारागार प्रमुख केसीले भन्नुभयो “महिला कैदै बन्दीहरुलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छनु तर पुरुष केदीबन्दीहरुलाई निकै समस्या छ ।”

हाल कारागारमा सबैभन्दा धेरै करणी मुद्धाका कैदी तथा थुनुवा रहेका छन् । जसमध्य जबरजस्ती करणीका २२ कैदी र २२ थनुवा, हाडनाता करणीका पाँच कैदी र दुई थुनुवा र जवरजस्ती करणी उद्योगमा पाँच कैदी र तीन थुनुवा गरि कुल ३२ कैदी र २७ थुनुवा रहेका छन् ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा २२ कैदी र ३१ थुनुवा गरि ५६ जना रहको केसीले जानकारी दिनुभयो । कर्तव्य ज्यान तर्फ पुरुष तर्फ २१ कैदी र २७ थुनुवा रहेका छन् भने महिला तर्फ तीन कैदी र चार थुनुवा रहेको छन् । लागुऔषध मुद्दामा कैदी तर्फ चार र पाँच थुनुवा गरि कुल नौ जना रहेका छन् । सवारी ज्यान तर्फ कुल एक कैदी र सात थुनुवा रहेका छन् । ज्यान मार्ने उद्योग तर्फ एक जना कैदी रहेका छन् भने सात जना थुनुवा रहेका छन् ।

बहुविवाह तर्फ नौ जना थुनुवा र एक जना कैदी रहेका छन् । नौ जना थुनुवामध्ये दुई जना महिला रहेका छन् । साधारण चोरी तथा नकवजरी चोरीको मुद्दामा हाल २ जनाले कैद जिवन बिताईरहेका छन् भने आठ जना थुनुवा रहेका छन् । मानव बेचविखन मुद्दामा एक जना कैदि रहेका छन् भने एक जना थुनुवा रहेका छन् । हातहतियार खरखजना मुद्दामा नौ जनाले कैदी जिवन बिताईरहेका छन् भने एक जना थुनुवा रहेका छन् । त्यस्तै, ठगी मुद्दामा एक, बैदेशिक रोजगारी कसुरमा एक जना कैदी रहेका छन् ।

कारागारमा भएको समस्याको समाधानको लागि सरोकारवाला निकायसंग छलफल भइरहेको कारागार कार्यालयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *