रोहन जि.सी, बागलुङ
बागलुङ बजारमा केही महिनादेखी बिक्रि वितरण हुदै आएको पुष्पराज दालमोठ खान योग्य नभएको खुलेको छ । चितवनको पुष्पराज नामक कम्पनीले उत्पादन गरेको दालमोठको उत्पादन मितिमा लापरवाही गरेको पाईएपछि उपभोगयोग्य नभएको भएको हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्चसहित प्रहरी र पत्रकारको टोलीले बुधबार अनुगमन गर्दा शिवधारा स्थित एक पसलमा सो कम्पनीको दालमोठ फेला परेपछि नमुना संकलन गरेको छ ।
उक्त दालमोठको उत्पादन मिति नोभेम्बर सन २०२२ अर्थात आगामी मंसिर महिनाको राखिएको छ । नियोजित तरिकाले कम्पनीले लापरवाही गरेको ठहर भएमा खाद्य ऐन अन्तरगत कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।
आफु कहाँ सो कम्पनीको दालमोठ ७ महिना पहिलेदेखिनै आएकोले बजारका विभिन्न पसलहरुमा बिक्रि वितरण भईरहेको बागलुङ बजारका आधिकारिक बिक्रेता सुवर्ण स्टोर्सका सुवर्ण शर्माले जानकारी दिनुभयो । आफु कहाँ खुल्ला बिक्रि नगरिने हुँदा उत्पादन मिति बारे ध्यान नगएको उहाँको भनाई छ ।
आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पर्ने खालका गुणस्तरहिन सामग्री बेचबिखन गरेको पाईएमा जो कोही लाई कानुन बमोजिमको कारबाही गरिने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
अनुगमन टोलीले बुधबार बजारका बिभिन्न ९ वटा पसलको अनुगमन गरी म्याद गुर्जेका, मुल्यसुची नभएका लगायत गुणस्तरहिन सामग्री जफत गरी नष्ट गरेको थियो ।