डम्मर बुढा मगर, बागलुङ
दकश अगाडी घोँडा खच्चड भएको व्यक्तिलाई समाजमा धनीमानीका रुपमा गन्ने गरिन्थ्यो । घोँचा खच्चडबाट आम्दानी समेत राम्रो गर्ने हुँदा खच्चड व्यवसायीको आर्थिक अवस्था पनि मजबुतनै हुने गथ्र्यो । यतिबेला ढोरपाटन उपत्यकामा सयौँ घोँडा खच्चड चरिरहेका देखिन्छन् । अहिले ढोरपाटन क्षेत्रमा देखिने खच्चड बेकामे बनेका छनु । कुनै समय दैनिक घण्टौँ सामान ढुवानी गर्न प्रयोग हुने खच्चड अहिले जताततै सडक संजालले जोडिएपछि बेकामे बनेका हुन् ।
सडक संजालले गाउँहरु नजोडिँदा टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएको खच्चड अहिले कामविहीन बनेका छन् । ग्रामीण क्षेत्रमा मोटरबाटोले नजोडिँदा खच्चड मार्फत आय आर्जन गर्ने व्यवसायी अहिले थला पर्दै गएका छन् । उनीहरुले अर्को व्यवसाय रोज्नु पर्ने बाध्य बनेको छ । जिल्लाका सबै गाउँहरु सडक सञ्जालले जोडिएपछि घोडा खच्चडको प्रयोगमा कम हुँदै गएको छ । घोडा खच्चडको प्रयोग घटेसँगै खच्चड व्यवसायी समस्यामा परेका हुन् ।
सडक संजालसँगै ग्रामीण क्षेत्र नजोडिएको समयमा पश्चिम बागलुङको बुर्तिबाङ, ढोरपाटन, निसेलढोर, तमान, बोङ्गादोभान, खुङ्खा, निसी, भल्कोट लगायतका विकट गाउँ–गाउँमा देखिने खच्चड अहिले देख्दै मुस्किल छ । मध्यपहाडी लोकमार्ग नजोडिँदासम्म खच्चडमा बाहेक अरुमा सामान ढुवानी गर्ने विकल्प थिएन । जिल्लाका विभिन्न बजारहरुमा पनि खच्चडले नै सामान ढुवानी गर्ने गर्थे । जब लोकमार्ग र अन्य सडकले बजार तथा गाउँहरु जोडिए, त्यसपछि घोडा खच्चडको प्रयोग कम हुँदै गयो ।
खच्चड व्यवसायीले हिउँदको समयमा काम नपाए पनि वर्षात्को समयमा भने काम पाउँछन् तर सबै व्यवसायीले काम पाउन गाह्रो छ । वर्षातको समयमा बाढी पहिरोका कारण सडक अवरुद्ध हुने हुँदा सामान ढुवानीका लागि केही व्यवसायीले काम पाउने गरेका छन् । केन्द्र सरकारसँगै स्थानीय तहले गाउँ–गाउँ मोटरबाटो पु¥याए पछि अहिले गाडीले नै सामान ढुवानी गर्न थालेको छ । यसले गर्दा खच्चड व्यवसायी निरास भएका छन् ।
गाडीको पहुुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामाग्रीको ढुवानीका निम्ती घोडा खच्चडको प्रयोग गर्ने गरेको ढोरपाटन नगरपालिका वडा नम्बर ७ का खच्चड व्यवसायी कुले विकले बताउनुभयो । उहाँले अहिले खच्चडको काम नहुँदा पाल्न समेत गाह्रो हुन थालेको गुनासो गर्नुभयो ।
‘पहिले त घोडा खच्चड हुने मान्छे त निकै धनी मानिन्थे, अहिले त्यो भन्दा गरिब अरु छैनन् होला, घोडा खच्चडको कामै छैन अहिले, काम नभएपछि पाल्न पनि गाह्रो भएको छ,’ उहाँले भन्नुभयो ‘काम पाउँदा त दाना किनेर खुवाउने, बलियो बनाउने गरिन्थ्यो अहिले त कमाई सुको पैसा छैन, दान खुवाउन सक्ने अवस्था पनि छैन ।’
व्यवसायी कामीले अहिले गाउँ–गाउँमा सडक पुगेको भन्दै घोडा खच्चड प्रयोग विहिन बनेको बताउनुहुन्छ । सडकले धेरै सुविधा भए पनि घोडा खच्चड व्यवसायी विस्थापित हुने अवस्था आएको उहाँको भनाई छ । ‘गाडी नआउँदा घोडा खच्चड मार्फत ढोरपाटनमा उत्पादन हुने आलु सिमी लगायतका सामानहरु बेसी तिर बेच्न लग्थ्यौँ, बेसी तिरबाट चामल, नुन, तेल, लत्ता कपडा ल्याउने गथ्यौँ,’ उहाँले भन्नुभयो ‘अहिले सडक गाउँमै आएको छ, सबै सामान गाडीले घर–घरमै पु¥याउँछ, त्यसले गर्दा घोडा खच्चडको कामै छैन, अब यो न कसैले किन्छ, हामीहरु समस्यामा प¥यौ ।’
तमानखोला गाउँपालिका वडा नम्बर ४ का मनबहादुर रसाइलीले सडकले खच्चड व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो । उहाँले सडकले धेरै सहजता लिए पनि आफूहरुको गरी खाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसो पाख्नुभयोे ।
‘गाउँ–गाउँमा मोटरबाटो आयो, धेरै सुविस्ता पनि भएको छ, दुःख बिमारी हुँदा सजिलै अस्पताल पुगिन्छ, तर हामी जस्तो खच्चड व्यवसायी त निकै ठूलो मारमा प¥यौँ, गरि खाने पेसानै धरापमा छ’ रसाइलीले भन्नुभयो ‘बाटो आए पनि २/ वर्ष अगाडिसम्म त अलिअलि काम त हुन्थ्यो, अहिले त काम पाउनै गाह्रो छ, कहिलेकाही पायो भने पनि पहिलाको जस्तो पैसा दिदैनन्, अहिले घोडा खच्चड पाल्न पनि सक्न छोडियो, कमाईनै हुँदैन, केले दाना किने र खुवाउने ? आफूलाई नै विहान बेलुकीको छाक कसरी टार्ने हो चिन्ता हुन थाल्यो ।’
रसाइलीले ३/४ दिनको यात्रा गरेर २२ वटा खच्चडमा सामान ढुवानी गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिन अहिल्यै नआउने बताउँनुहुन्छ । ‘खस्यौली, बटौली (बुटवल) बाट हप्ता दिनभन्दा बढी समय लगाएर दोकानहरुमा सामानहरु ल्याउने गथ्र्यो, काम त भ्याइ नभ्याई हुन्थ्यो, कमाई पनि उस्तै राम्रो हुन्थ्यो,’ उनले विगतलाई सम्झिँदै भन्नुभयो ‘अहिले न काम न दाम, काम जति सबै गाडीले पाउँछ, हामीले केको काम पाउनु ?, खच्चड उतिबेला बेचेको भए लखपती बनिन्थ्यो, होला अहिले सडकपति बनियो ।’
उहाँले अहिले घोडा पालनमा चूनौति थपिएको सुनाउनुभयो । काम नपाएपछि घोडा पालनमा कुनै फाइदा नभएको भन्दै बेच्न खोजे पनि विक्री नहुने रसाइली बताउँनुभयो । ‘कसैले किन्ने भए त थोरै दाममा भए पनि बेच्ने थिएँ, तर किन्ने ग्राहक नै पाइँदैन, उतिबेला बेचेको भए धेरै कमाई हुन्थ्यो, अहिले यस्तो समस्या आउने थिएन ।’ खच्चड व्यवसायीहरु अहिले आर्थिक हिसाबले संकटमा त परेकै छन्, त्यसमाथि सयौँ खच्चड कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ ।